
काठमाडौं ।
सामसङको अनप्याक्ड कार्यक्रमको क्रममा बुधबार अनावरण गरिएको ग्यालेक्सी एस२६ अल्ट्रा सामसङको पछिल्लो प्रिमियम डिभाइस हो। ग्यालेक्सी एस२६ अल्ट्राले गुणस्तरीय अपग्रेडहरूको साथ डेब्यू गरेको छ। नयाँ सामसङ फ्ल्यागशिप फोनमा अझै पनि आफ्नो पूर्ववर्तीसँग धेरै समानताहरू रहेका छन् र अब एप्पलको हाई–इण्ड आइफोन १७ प्रो म्याक्स सँग खडा हुन सक्छ त?
ग्यालेक्सी एस२६ अल्ट्राको मूल्य १,३०० अमेरिकी डलर छ भने आइफोन १७ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलरबाट सुरु हुन्छ। तपाईंले कुन उपकरण रोज्नुभयो भन्ने कुराले फरक पार्दैन, तपाईंले बजारमा केही उत्कृष्ट फोनहरू पाउनुहुनेछ। यद्यपि, निर्णय गर्नु अघि तपाईंले विचार गर्नुपर्ने केही प्रमुख भिन्नताहरू छन्। सिनेट डट कमले यहाँ नयाँ सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा र एप्पलको आइफोन १७ प्रो म्याक्स बीचको स्पेसिफिकेशनहरूको तुलना प्रस्तुत गरेको छ।
डिस्प्ले र बिल्डः
ग्यालेक्सी एस२६ अल्ट्रामा १२० हर्जको डायनामिक रिफ्रेस रेट र ३,१२०×१,४४० पिक्सेल रिजोल्युसन भएको ६.९ इन्चको एएमओएलईडी डिस्प्ले छ। गत वर्षको ग्यालेक्सी एस२५ अल्ट्रामा जस्तै डिस्प्लेमा माथि रहेको कोर्निङ गोरिल्ला आर्मर २ लेयरले रिफ्लेक्सन र ग्लेर कम गर्छ। नयाँ ग्यालेक्सी एस२६ ले ग्यालेक्सी एस२५ अल्ट्राको स्क्रिनको पक्षहरूलाई कायम राखेको छ र डिभाइसलाई सार्वजनिक स्थानहरूमा अपरिचितहरूबाट अन–स्क्रिन कन्टेन्टलाई सुरक्षित गर्ने नयाँ प्राइभेसी डिस्प्ले सुविधाको प्रस्तुत गरेको छ।
सामसङले पिक्सेल स्तरमा प्राइभेसी डिस्प्ले विकास गरेको छ। यसले वाइडर–एङ्गल (चौडा–कोण) पिक्सेलहरू (सबै दिशाहरूमा प्रकाश उत्सर्जन गर्ने) र न्यारो (साँघुरो) पिक्सेलहरू (तपाईंतिर सिधा प्रकाश उत्सर्जन गर्ने) एकअर्काको छेउमा राखेको छ।
यो सुविधा खोल्दा न्यारो (साँघुरो) पिक्सेलहरूले ९० डिग्रीमा प्रकाश विकिरण गर्दछन् र त्यसले गर्दा हेर्ने कोणहरूलाई सीमित हुनेछ। फलस्वरूप, यदि कसैले तपाईंको फोनलाई छेउबाट हेरेको खण्डमा तिनीहरूले तपाईंको अन–स्क्रिन कन्टेन्ट (सामग्री) पढ्न÷देख्न सक्षम हुनेछैनन्। सामसङले तपाईंलाई प्राइभेसी डिस्प्ले स्वचालित रूपमा ट्रिगर गर्न विशिष्ट एपहरू र दिनको समय (दिनचर्या मार्फत) चयन गर्न अनुमति प्रदान गरेको छ। पार्सियल स्क्रिन प्राइभेसी र म्याक्सिमम् प्राइभेसी प्रोटेक्सन गरी दुई मोडहरू उपलब्ध रहेका छन्। साथै म्याक्सिमम् प्राइभेसी प्रोटेक्सनले थप प्रभावकारी परिणामको लागि चमक पनि घटाउने छ।
एप्पलको आईफोन १७ प्रो म्याक्समा भने यो प्राइभेसी डिस्प्ले सुविधाको अभाव छ। तर डिस्प्लेको भिजिबिलिटी कम गर्ने धेरै स्क्रिन प्रोटेक्टर एक्सेसरीजहरू उपलब्ध छन्। क्यालिफोर्नियाको क्युपर्टिनोमा आधारित कम्पनीले आफ्नो पछिल्लो आईफोनहरूमा सिरेमिक शिल्ड २ सँग कम रिफ्लेक्टिभ स्क्रिन प्रस्तुत गरे तापनि यो सामसङको प्राइभेसी डिस्प्ले सुविधासँग तुलना गर्न नसक्ने बताइएको छ। आईफोन १७ प्रो म्याक्समा २,८६८×१,३२०–पिक्सेल रिजोल्युसन र डायनामिक १२०हर्ज भेरियबल रिफ्रेस रेटको साथ ६.९ इन्चको ओएलईडी स्क्रिन रहेको छ। सामसङ र एप्पल दुवै फोनहरू कठोर प्रकाशमा पढ्न सकिने छ भने ग्यालेक्सी एस२६ अल्ट्राको कम रिफ्लेक्टिभिटीले सुगमता सुधार गर्नुपर्ने छ।
यी दुवै डिभाइसहरू समात्नको लागि ठूला आकारका फोनहरू हुन्। ग्यालेक्सी एस२६ अल्ट्रा आफ्नो पूर्ववर्ती जस्तै देखिए तापनि नयाँ डिजाइनको कारण फोन समात्न सजिलो हुनेछ। ग्यालेक्सी एस२६ अल्ट्राको मोटाइ ७.९ एमएम र २१४ ग्राम तौलको साथ आईफोन १७ प्रो म्याक्स (८.५ मिमी र २३३ ग्राम) भन्दा पातलो र हल्का रहेको छ। तुलनात्मक रुपमा आईफोन समात्दा माटो महसुस हुने बताइएको छ। दुबै फोनहरू धुलो र पानी प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन गरिएका छन्।
सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा कोबाल्ट भायोलेट, सेतो, कालो र स्काई ब्लू रङ्गहरूमा आउँछ भने पिङ्क गोल्ड र सिल्भर स्याडो अनलाइन उपलब्ध छन्। अर्कोतर्फ, आइफोन १७ प्रो म्याक्स अझ जीवन्त कस्मिक ओरेन्ज, डीप ब्लू र सिल्भर रङ्ग विकल्पहरूमा उपलब्ध छ। अतिरिक्त सुविधाहरूमा सामसङ फोनको साथ एस पेन समावेश गरिएको छ भने एप्पलले वान–प्रेस कार्यहरूको लागि क्यामरा कन्ट्रोल र एक्शन बटनहरू प्रदान गर्दछ।
प्रोसेसर, स्टोरेज र ब्याट्री जीवनः
सामसङको नयाँ फोनले क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसरको १६ जीबीसम्मको र्याम र १ टीबी स्टोरेज समावेश गरेको छ। सामसङले आफ्नो चिपसेट वरिपरि भेपर कूलिङ्ग चेम्बरलाई पनि पुनः डिजाइन गरेको छ। पुनः डिजाइन गरिएको भेपर कूलिङ्ग चेम्बरले दिगो कार्यभार प्रदर्शन सुधार गर्नेछ। साथै यो सुविधा प्रायः गेमिङ–केन्द्रित फोनहरूमा लामो समयसम्म गहन प्रयोगको लागि डिजाइन गरिएको हुन्छ। साथै चिप अपग्रेडका कारण केही नयाँ एआई सुविधाहरूले फोनलाई सेटिङहरू परिवर्तन गर्न वा सेवाहरू बुक गर्न सकिन्छ।
आईफोन १७ प्रो म्याक्समा एप्पलको पछिल्लो ए१९ प्रो चिप समावेश गरिएका छ र यो गत वर्षको १६ प्रो म्याक्समा समावेश गरिएको ए१८ प्रो चिप भन्दा पनि तिव्र भएको बताइएको छ। यो चिपमा एआई कार्यहरूलाई राम्रो दक्षताका साथ ह्यान्डल गर्न मद्दत गर्न डिजाइन गरिएको नयाँ न्यूरल एक्सेलेरेटरहरू छन्। यो आईफोन २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी स्टोरेज मोडेलहरूमा पनि आउँछ।
यो वर्ष एप्पलको स्मार्ट सिरी आउने प्रतीक्षामा रहँदा सामसङले कन्भर्सेसनल र कन्टेक्स्टचुअल जानकारी प्रदान गर्न आफ्नो बिक्सबी एसिस्टेन्टलाई अपडेट गरेको छ। उदाहरणका लागि, बिक्सबीलाई “मेरो स्क्रिनले आँखामा तनाव निम्त्याइरहेको छ। यसलाई कम गर्न म के गर्न सक्छु?” सोध्दा यसले तपाईंको स्क्रिनमा ब्लू लाइट कम गर्न सामसङको आई कम्फर्ट शिल्ड सेटिङलाई सतहमा ल्याउनेछ। सामसङको बिक्सबी एसिस्टेन्टले गुगलको जेमिनीसँगै काम गर्नेछ र सामसङले उबर सवारी बुक गर्ने जेमिनीको आगामी क्षमताको प्रदर्शन गर्नेछ (एआईले स्वचालित रूपमा भुक्तानी गर्दैन)। बिक्सबी वा जेमिनीमा निर्भर अन्य सुविधाहरू मध्ये सामसङ किबोर्डले तपाईंले के गरिरहनुभएको छ भन्ने आधारमा कन्टेक्स्टचुअल कार्यहरू पनि सतहमा ल्याउनेछ।
एस२५ अल्ट्रामा ५,०००–एमएएच ब्याट्री छ जुन ६० वाटमा चार्ज हुन्छ। आईफोन १७ प्रो म्याक्समा ५,०८८–एमएएच ब्याट्री छ र एप्पलले आफ्नो ब्याट्रीको सटीक चार्जिङ गतिको खुलासा गरेको छैन र ४०–वाट चार्जिङ एडाप्टर प्रयोग गर्दा यसले ० देखि ६९ प्रतिशत सम्म रिचार्ज गर्दछ। २०२५ मा परीक्षण गरेका ३५ फोनहरूको तुलनामा हालैको ब्याट्री परीक्षणमा पनि आईफोन १७ प्रो म्याक्स शीर्ष स्थानमा रहेको थियो।
क्यामराहरूः
सामसङ ग्यालेक्सी एस२६ अल्ट्राले आफ्नो पूर्ववर्तीसँग धेरै मिल्दोजुल्दो चार–क्यामरा सेटअप उपलब्ध गराएको छ। ग्यालेक्सी एस२६ अल्ट्रामा २००–मेगापिक्सेल एफ/१.४ (एफ/१.७ बाट माथि) प्राथमिक क्यामरा, ५०–मेगापिक्सेल एफ/२.९ (एफ/३.४ बाट माथि) ५× टेलिफोटो सेन्सर, अर्को १०–मेगापिक्सेल ३× एफ/२.४ टेलिफोटो सेन्सर र ५०–मेगापिक्सेलको एफ/१.९ अल्ट्रावाइड–एंगल लेन्स समावेश गरिएका छन्। अगाडि ८५–डिग्री फिल्ड अफ भ्यूको साथ १२–मेगापिक्सेलको सेल्फी शूटर छ। साथै दुई क्यामराहरूमा रहेको ठूलो एपर्चरले रातको समयमा फोटो र भिडियोहरू सुधार गर्न अनुमति दिने सामसङले बताएको छ।
एप्पलको आइफोन १७ प्रो म्याक्समा तीनओटा ४८ मेगापिक्सेल क्यामराहरू रहेका छन् र त्यसमा स्ट्याण्डर्ड लेन्स, अल्ट्रावाइड–एंगल सेन्सर र ८× जुममा स्थिर भिडियोहरू खिच्न सक्षम ४× टेलिफोटो क्यामरा समावेश भएको बताइएको छ।
सबैभन्दा ठूलो अपग्रेड डाइनामिक आइल्याण्डको छेउमा रहेको अगाडिको भागमा रहेको छ। एप्पलले आफ्नो पछिल्लो आईफोनहरूमा वर्गाकार फ्रन्ट क्यामरा थप गरेको छ। सामसङले आफ्नो “एआई आईएसपी” ले आफ्नो ग्यालेक्सी एस२६ अल्ट्रामा सेल्फी क्यामरा सुधार गरेको बताएको छ। तर यो आईफोन १७ प्रो म्याक्सको गुणस्तरसँग मेल खान गाह्रो हुने उल्लेख गरिएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार