भारतमा एन्थ्रोपिकको राजस्व आम्दानी चार महिनामा दोब्बर भयो: सीईओ अमोडेई

  • Technology Khabar | ५ फाल्गुन २०८२, मंगलवार
भारतमा एन्थ्रोपिकको राजस्व आम्दानी चार महिनामा दोब्बर भयो: सीईओ अमोडेई

काठमाडौं ।

एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले भारतमा कम्पनीको राजस्व रन–रेट चार महिनामा दोब्बर भएको बताएका छन्। उनले सोमबार बेङ्गलुरुमा आयोजित बिल्डर समिटमा यस्तो बताएका हुन् जसले भारतमा कम्पनीको क्लाउड कोडिङ उत्पादनको तीव्र अपनत्व देखाउँछ।

सन् २०२५ अक्टोबरमा भारत विस्तार घोषणा गरेको एन्थ्रोपिकले सोमबार बेङ्गलुरु कार्यालय पनि औपचारिक रूपमा खोलेको छ। कम्पनीका अनुसार संयुक्त राज्य अमेरिकापछि भारत क्लाउड एआई मोडेलको सबैभन्दा ठूलो बजार बनेको छ।

“भारतभित्र एन्थ्रोपिक को व्यवसायिक रन–रेट राजस्व पछिल्ला चार महिनामा दोब्बर भएको छ र क्लाउड कोड अझ तीव्र गतिमा बढेको हुन सक्छ,” अमोडेइले भने, तर उनले विस्तृत तथ्यांक खुलाएनन्। अमेजन र अल्फाबेटको समर्थन पाएको स्टार्टअपले गत साता ३० अर्ब डलर संकलन गरेको थियो, जसले कम्पनीको मूल्यांकन ३८० अर्ब डलर पुर्‍याएको रोयटर्सले उल्लेख गरेको छ।

क्लाउड कोड गत मे महिनादेखि सर्वसाधारणका लागि उपलब्ध भएपछि डेभलपरहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। कम्पनीले गत महिना कर्मचारीका लागि कम्प्युटर कार्य सम्पन्न गर्न सहयोग गर्ने एआई एजेन्ट “क्लाउड कोवर्क” पनि सार्वजनिक गरेको छ।

जनवरीमा क्लाउड कोवर्कको प्लग–इन सार्वजनिक भएपछि सफ्टवेयर शेयरहरूमा विश्वव्यापी बिक्री दबाब देखिएको थियो। तीव्र गतिमा बढ्दो जेनरेटिभ एआईले भारतको २८३ अर्ब डलर बराबरको आईटी सेवा उद्योगलाई असर गर्न सक्ने चिन्ता बढेको छ। फेब्रुअरी महिनामै भारतीय सफ्टवेयर निर्यात कम्पनीहरूको बजार पुँजीकरण ४७ अर्ब डलरभन्दा बढीले घटेको छ।

अमोडेइले भारतमा क्लाउड को प्रयोग “प्राविधिक रूपमा गहिरो” रहेको बताए। “क्लाउड सधैं उत्पादनशीलता र पेशागत कामतर्फ केन्द्रित रहँदै आएको छ, र भारतमा त्यो झन् स्पष्ट देखिएको छ,” उनले भने।

एन्थ्रोपिक ले भारतका विभिन्न कम्पनीसँग सहकार्य पनि घोषणा गरेको छ। एयर इण्डियाले आफ्ना सञ्चालन प्रणालीमा कस्टम सफ्टवेयर छिटो विकास गर्न र एजेन्टिक एआई समावेश गर्न क्लाउड कोड प्रयोग गरिरहेको जनाएको छ। साथै आईटी कम्पनी कग्निजान्टले पुराना प्रविधि प्रणाली आधुनिकीकरण गर्न क्लाउड प्रयोग गरिरहेको छ।

कानून, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका भारतीय स्टार्टअपहरूसँग पनि साझेदारी घोषणा गरिएको छ। यी घोषणाहरू अमोडेइको यस साता हुने इण्डिया एआई इम्प्याक्ट सहभागिताअघि आएका हुन्।

प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार