
काठमाडौं ।
डिसेम्बर २०३२ मा भवनजत्रो क्षुद्रग्रह २०२४ वाईआर४ चन्द्रमामा ठोक्किएमा त्यसबाट उत्पन्न हुने चम्किलो प्रकाश पृथ्वीबाट नाङ्गो आँखाले पनि देख्न सकिने एक नयाँ अध्ययनले देखाएको छ।
करिब २०० फिट (६० मिटर) चौडाइ भएको करिब १५ तले भवन बराबरको यो क्षुद्रग्रह सन् २०२४ डिसेम्बर २७ मा पत्ता लागेको थियो। वैज्ञानिकहरूले यति ठूलो क्षुद्रग्रहमध्ये पृथ्वीमा ठोक्किने सम्भावना सबैभन्दा धेरै भएको वस्तु भनेर आँकलन गरेका सन् २०२५ फेब्रुअरीमा यसले चर्चा पाएको थियो। एक समय यसको पृथ्वीमा ठोक्किने सम्भावना ३.१ प्रतिशत सम्म पुगेको थियो।
तर पछिल्ला विस्तृत गणनाले २०३२ डिसेम्बर २२ मा हुने यसको नजिकको यात्राका क्रममा पृथ्वीमा ठोक्किने कुनै सम्भावना नरहेको पुष्टि गरिसकेको छ। यद्यपि, नासाका अनुसार चन्द्रमामा ठोक्किने सम्भावना भने अझै ४.३ प्रतिशत रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।
सन् २०२५ मा प्रकाशित एक अध्ययनअनुसार यदि यो क्षुद्रग्रह चन्द्रमामा ठोक्कियो भने त्यसले ६५ लाख टन टीएनटी बराबरको ऊर्जा उत्सर्जन गर्नेछ, जुन आधुनिक समयमा अभिलेख गरिएको सबैभन्दा ठूलो चन्द्र–आघात हुन सक्छ।
‘प्राकृतिक प्रयोग’ को दुर्लभ अवसर
यस सम्भावनाले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता क्रुजका पोस्टडक्टोरल अनुसन्धानकर्ता यिफेई जियाओ र उनको टोलीको ध्यान खिच्यो। उनका अनुसार यो “पूर्वानुमान गर्न सकिने सानो खगोलीय पिण्डको दुर्लभ प्राकृतिक प्रयोग” हो, जसबाट वैज्ञानिक र व्यावहारिक दुवै हिसाबले महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ।
अनुसन्धानकर्ताहरूले सूर्य, ग्रहहरू, पृथ्वी र चन्द्रमासहित सौर्यमण्डलको कम्प्युटर मोडेल बनाएर १०,००० वटा सिमुलेसन चलाए। त्यसका आधारमा चन्द्रमामा सम्भावित ठोक्किने क्षेत्रहरू पहिचान गरियो। थप सूक्ष्म सिमुलेसनमार्फत ५०० सेकेन्डको समयावधिमा आघातपछिको अवस्था र चन्द्रमाको गुरुत्वाकर्षणबाट बाहिरिने ढुंगाहरूको मार्गसमेत अध्ययन गरियो।
अहिलेसम्म सहकर्मी समीक्षामा नपरेको र एआरएक्सआईभीमा उपलब्ध अध्ययन अनुसार क्षुद्रग्रह चन्द्रमाको करिब ३,००० किलोमिटर लामो क्षेत्र भित्र ठोक्किने सम्भावना बढी छ। यो क्षेत्र चन्द्रमाको टाइको क्रेटरको उत्तरतर्फ पर्छ।
शुक्र ग्रहजत्तिकै उज्यालो विस्फोट
सबैभन्दा रोचक कुरा, आघातका बेला उत्पन्न हुने फ्ल्यासको चमक –२.५ देखि –३ म्याग्निच्युडसम्म हुन सक्छ — जुन रातको आकाशमा देखिने शुक्र ग्रह बराबरको उज्यालो हो। यो फ्ल्यास ३ देखि ५ मिनेटसम्म रहन सक्ने अनुमान छ, र कम्तीमा १० सेकेन्डसम्म स्पष्ट रूपमा देखिनेछ।
यदि आघात भयो भने अनुमानित समय १५:१९ यूटीसी (नेपाली समय करिब २१:०४) हुनेछ। त्यसबेला चन्द्रमा उदाइसकेको क्षेत्र — पूर्वी एसिया, ओसियानिया, हवाई र पश्चिमी उत्तर अमेरिका — अवलोकनका लागि उपयुक्त हुनेछन्।
तर एउटा सर्त छ। सो दिन चन्द्रमाको ७० प्रतिशत भाग उज्यालो हुनेछ। फ्ल्यास नाङ्गो आँखाले देखिन चन्द्रमाको अँध्यारो भागमा आघात हुनुपर्छ। अध्ययन अनुसार, चन्द्रमामा ठोक्किएकै अवस्थामा पनि यस्तो अनुकूल स्थानमा ठोक्किने सम्भावना मात्र २.८५ प्रतिशत छ। यद्यपि, आघात जुनसुकै भागमा भए पनि सामान्य टेलिस्कोपबाट भने फ्ल्यास सजिलै पत्ता लगाउन सकिने वैज्ञानिकहरू बताउँछन्।
‘सुपर मेटिअर वर्षा’ को सम्भावना
आघातका क्रममा चन्द्रमाबाट १० करोड किलोग्रामसम्म ढुंगा पृथ्वीको दिशामा उछिट्टिन सक्छ। यसले आघातपछि २ देखि १०० दिनभित्र पृथ्वीमा अत्यन्त तीव्र “सुपर मेटिअर स्टर्म” (असाधारण उल्का वर्षा) सिर्जना गर्न सक्ने अध्ययनको अनुमान रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।
यद्यपि २०२४ वाईआर४ चन्द्रमामा ठोक्किने कुरा अझै अनिश्चित नै छ, अनुसन्धानकर्ता यिक्सुआन वू भन्छिन्, “यदि यस्तो भयो भने यो ग्रह विज्ञानका लागि ऐतिहासिक क्षण हुनेछ। यसले क्षुद्रग्रह आघातसम्बन्धी हाम्रो बुझाइ परीक्षण गर्ने भव्य प्रयोगशालाका रूपमा पृथ्वी–चन्द्र प्रणालीलाई स्थापित गर्नेछ।”
प्रकाशित: २३ माघ २०८२, शुक्रबार