फोर्ड र चीनको जीलीबीच उत्पादन तथा प्रविधि साझेदारीबारे छलफल हुँदै

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
फोर्ड र चीनको जीलीबीच उत्पादन तथा प्रविधि साझेदारीबारे छलफल हुँदै

काठमाडौं ।

विश्वका अटोमोबाइल कम्पनीहरू बढ्दो प्रविधि र उत्पादन लागत साझा गर्ने उपाय खोजिरहेका बेला फोर्ड र चीनको जीलीबीच सम्भावित साझेदारीबारे छलफल भइरहेको छ। यस विषयमा जानकारी भएका आठ जना स्रोतका अनुसार वार्ता जारी छ।

स्रोतहरूका अनुसार जीलीले युरोपका लागि सवारीसाधन उत्पादन गर्न फोर्डका कारखानाहरू प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ। साथै, स्वचालित ड्राइभिङ लगायतका क्षेत्रमा साझा सवारी प्रविधिको ढाँचा विकास गर्ने सम्भावनाबारे पनि कुराकानी भएको दुई जना स्रोतले बताएका छन्।

रोयटर्सका अनुसार युरोपेली उत्पादनसँग सम्बन्धित वार्ता तुलनात्मक रूपमा अझ अगाडि बढिसकेको दुई स्रोतले जनाएका छन्। छलफललाई तीव्र बनाउन फोर्डले यसै हप्ता चीनमा प्रतिनिधिमण्डल पठाएको छ। यसअघि गत हप्ता मिशिगनमा गीलीका वरिष्ठ कार्यकारीहरू र फोर्ड नेतृत्वबीच बैठक भएको थियो।

पछिल्ला केही महिनादेखि नै फोर्ड र जीलीबीच वार्ता चलिरहेको बुझिएको छ। यी वार्ताहरूको पूर्ण दायरा र अमेरिकी बजारसमेत समेट्ने कुनै सम्झौता हुनेछ कि छैन भन्ने विषयमा पुष्टि भएको छैन।

जीलीले टिप्पणी गर्न अस्वीकार गरेको छ। फोर्डले भनेको छ,
“हामी विभिन्न विषयमा धेरै कम्पनीहरूसँग निरन्तर छलफल गर्छौं। कहिलेकाहीँ ती वार्ताले ठोस रूप लिन्छन्, कहिलेकाहीँ लिँदैनन्।”

बाइडेन प्रशासनको कार्यकालमा लगाइएका शुल्क र प्रतिबन्धहरूका कारण चिनियाँ अटो निर्माता कम्पनीहरू प्रायः अमेरिकी बजारबाट बाहिरिएका छन्।

ती प्रतिबन्धहरू राष्ट्रिय सुरक्षासँग सम्बन्धित डाटा सङ्कलन र सवारी सफ्टवेयरको जोखिमलाई आधार बनाएर लगाइएका थिए। अमेरिकी बजारमा उन्नत चिनियाँ सवारी प्रविधि भित्र्याउने कुनै पनि सम्झौताले ट्रम्प प्रशासन र केही सांसदहरूको कडा निगरानी सामना गर्नुपर्ने सम्भावना छ।

‘नम्र बनाउने’ चिनियाँ प्रविधि

सम्भावित सम्झौताले फोर्डलाई कनेक्टेड–भेहिकल प्रविधि र स्वायत्तताजस्ता क्षेत्रमा विश्व प्रतिस्पर्धीसँगको दूरी घटाउन सहयोग गर्न सक्छ। यी क्षेत्रहरू टेस्लाका लागि प्राथमिकता हुन् भने चिनियाँ अटो निर्माताहरूको प्रमुख ध्यान केन्द्र पनि यही हो। फोर्डका सीईओ जिम फार्ले ले चीनसँगको प्रतिस्पर्धी अन्तर घटाउनुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आएका छन्।

गत वर्ष आस्पेन आईडियाज फेस्टिभलमा दिएको अन्तर्वार्तामा फार्लेले विद्युतीय सवारी र कनेक्टेड–भेहिकल प्रविधिमा चीनको विश्वव्यापी अग्रता आफूले देखेको “सबैभन्दा नम्र बनाउने अनुभव” भएको बताएका थिए।

उनले फोर्ड र कुनै चिनियाँ अटो निर्माताबीचको संयुक्त उद्यमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्न सक्छन् कि भन्ने प्रश्नमा भनेका थिए,
“म त्यस्तो ठान्दिनँ। सही सुरक्षा मापदण्ड राखेर र सही तरिकाले अघि बढेमा, सरकारभित्र यसप्रति खुलेपन देखेको छु, किनभने यो आवश्यक छ भन्ने उनीहरूलाई थाहा छ।”

फोर्डका युरोपेली कारखानामा सवारी उत्पादन गरिएमा जीलीले युरोपेली संघले चीनमा बनेका विद्युतीय सवारीमा लगाएका शुल्कहरूबाट जोगिन सक्नेछ।

सन् २०२४ मा युरोपेली संघले अनुचित सरकारी सब्सिडीका कारण बजारमा सस्तो सवारीको बाढी आउने चेतावनी दिँदै चिनियाँ ईभी आयातमा ३७.६ प्रतिशतसम्म अस्थायी शुल्क लगाएको थियो।

स्रोतका अनुसार यी वार्तामा स्पेनको भालेन्सियास्थित फोर्ड प्लान्ट प्रमुख रूपमा समावेश हुन सक्ने सम्भावना छ।

धेरै चिनियाँ अटो निर्माताहरूले युरोपमा उत्पादन स्थापना गर्ने प्रयास गरिरहेका छन्। स्टेलान्टिससँगको संयुक्त उद्यमअन्तर्गत लीपमोटरका सवारीहरू स्पेनमा उत्पादन हुनेछन्।

त्यस्तै ग्वाङझाओ अटोमोबाइल ग्रुप र एक्सपेङले अस्ट्रियामा रहेको म्याग्ना इन्टरनेशनलको कारखानामा विद्युतीय मोडेल उत्पादन गर्दै छन्।

जीलीले यसअघि दक्षिण कोरिया र ब्राजिलमा रेनोसँग साझेदारी गरी जीली प्रविधिमा आधारित सवारी रेनोका कारखाना र बिक्री सञ्जालमार्फत उत्पादन तथा बिक्री गरिरहेको छ।

उक्त रणनीति सफल देखिएको छ। सन् २०२५ मा युरोपबाहिर रेनो ब्रान्डका सवारी बिक्री ११ प्रतिशतले बढेको, अघिल्लो वर्ष भने ०.६ प्रतिशतले घटेको थियो।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • २३ माघ २०८२, शुक्रबार