
काठमाडौं ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा सल्यानका उम्मेदवारले मतदाता रिझाउन एआई (कृत्रिम बौद्धिकता) प्रयोग गरी समाचार सामग्र प्रयोग गरेका छन्।
त्यसका लागि उनीहरूले एआईबाट फोटो, भिडियोलगायत अन्य सामग्री बनाएर प्रयोगमा ल्याउने गरेका छन्। सल्यानमा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा सम्बन्धित राजनीतिक दलहरू चुनावी कार्यक्रम र मतदाता रिझाउने त्यस्तो गतिविधिमा व्यस्त देखिएका छन्।
पालिका तथा वडास्तरका भेटघाट, घरदैलो कार्यक्रमदेखि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तीव्र बनेको छ। केही उम्मेदवारका प्रचार सामग्रीमा एआई (कृत्रिम बौद्धिकता) समेत प्रयोग भएको देखिन थालेको छ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला पार्टी सभापति केशबहादुर विष्ट चुनावी अभियानमा सक्रिय छन्। पूर्वजिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका विष्टले प्रदेश र स्थानीय तहबिच समन्वयकारी भूमिकाको अनुभव विकास आयोजना तथा कार्यक्रम अनुगमन, सरकारी कार्यालयबिच सहकार्य र जिल्लाको समग्र विकासमा सहजीकरण गरेको अनुभवलाई अब जिल्लावासीका समस्या केन्द्रसम्म पुऱ्याउने आधारका रूपमा अघि सारेका छन्।
नेकपा (एमाले) का उम्मेदवार तथा पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह पालिका र वडास्तरीय कार्यक्रममा निरन्तर सहभागी भइरहेका छन्।
एमालेले पालिका तथा वडा तहमा निर्वाचन परिचालन कमिटी गठन गरी संगठित रूपमा मतदाता भेटघाटलाई अघि बढाएको छ। शाहले औपचारिक रूपमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार रमेश मल्लले पनि चुनावी अभियानलाई तीव्रता दिएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रहिसकेका मल्ल पार्टीका अग्रज नेतासँगै पालिका तथा वडास्तरीय भेटघाटमा सक्रिय छन्।
उनले सल्यानको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुदृढ गर्दै उद्यमशीलता, स्वरोजगार र उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धिमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सल्यानमा घरदैलो तथा चुनावी कार्यक्रमलाई निरन्तरता दिएको छ। पार्टीका उम्मेदवार तथा कर्णाली प्रदेश महामन्त्री ललित चन्दले विभिन्न स्थानमा पुगेर नागरिकका समस्या बुझ्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार अनिशा नेपाली पनि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट गरिरहेका छन्।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’ विशेषतः सशस्त्र सङ्घर्षकालका सहिद तथा घाइते परिवारसँग भेटघाटमा केन्द्रित देखिएका छन्।
संविधान पुनर्लेखन गरी जनताको अधिकार सुनिश्चित गर्ने, भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनलगायत मागसहित उनको पार्टी निर्वाचनमा होमिएको छ।
सहिद परिवारका सदस्य तथा युद्धमा घाइतेसमेत रहेका खड्का तत्कालीन माओवादीका सैन्य कमान्डर तथा नेत्रविक्रम चन्द ‘विप्लव’ का प्रमुख स्वकीय सचिवका रूपमा पनि काम गरिकेका छन्।
जिल्लाको इतिहास र वर्तमान अवस्थालाई बुझेको दावी गर्दै युवाको परिवर्तनको आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धतासहित ध्रुवराज वली स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी अभियानमा सक्रिय छन्।
सल्यानमा अर्का स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंह पनि रहेकामा उनी हालै काठमाडौंबाट पक्राउ परेको बताइएको छ।
सल्यानमा मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेसनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीबाट कालीदास विक, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट बालसिंह घर्ती तथा श्रम संस्कृतिबाट धनबहादुर बुढा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका छन्।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय बैतडीले सबै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
निर्वाचन कार्यालयले जारी गरेको सूचनामा निर्वाचन फागुन २९ सम्पन्न गर्ने क्रममा राजनीतिक दल प्रचारप्रसारमा सक्रिय रहँदा केही शिक्षक तथा कर्मचारीसमेत दलगत गतिविधिमा संलग्न भएको, सामाजिक सञ्जालमा राजनीतिक विषय वस्तु पोस्ट गर्ने, लाइक तथा कमेन्ट गर्ने जस्ता कार्य भएको भन्ने जानकारी प्राप्त भएको यस्ता गतिविधिमा संलग्न नहुन उल्लेख गरिएको छ।
यस्ता गतिविधिले निर्वाचन आचारसंहिताको मर्मविपरीत प्रभाव पार्न सक्ने भएकाले शिक्षक, कर्मचारी तथा सार्वजनिक पदमा रहेका व्यक्तिले तटस्थता कायम गर्दै कुनै पनि किसिमको राजनीतिक प्रचारप्रसारमा संलग्न नहुन निर्वाचन कार्यालयले आग्रह गरेको छ।
कार्यालयले स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य निर्वाचनका लागि आचारसंहिता सबैका लागि समान रूपमा लागु हुने स्पष्ट पार्दै, उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १८ माघ २०८२, आईतवार