
काठमाडौं ।
माइक्रोसफ्टले यसै साता आफ्नै डिजाइनमा तयार पारेको पहिलो एआई चिपलाई डाटा सेन्टरमा प्रयोगमा ल्याएको छ। आगामी महिनाहरूमा थप चिपहरू तैनाथ गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
तर आफ्नै अत्याधुनिक एआई चिप सार्वजनिक गरेपछि पनि माइक्रोसफ्टले एनभिडिया र एएमडीजस्ता कम्पनीबाट चिप खरिद गर्न नछाड्ने स्पष्ट पारेको छ।
‘माइया २००’ नाम दिइएको यो चिपलाई माइक्रोसफ्टले “एआई इन्फरेन्स पावरहाउस” भनेको छ। अर्थात्, उत्पादन तहमा एआई मोडेल सञ्चालन गर्न आवश्यक उच्च कम्प्युटिङ क्षमताका लागि यो विशेष रूपमा अनुकूलित गरिएको हो।
माइक्रोसफ्टले सार्वजनिक गरेका विवरणअनुसार माइया २०० ले अमेजनका नयाँ ट्रेनियम चिप र गुगलका पछिल्ला टेन्सर प्रोसेसिङ युनिटभन्दा राम्रो प्रदर्शन गर्छ।
एनभिडियाबाट अत्याधुनिक एआई चिप पाउन कठिन र महँगो हुँदै गएको, आपूर्ति अभाव कायमै रहेको अवस्थाका कारण विश्वका ठूला क्लाउड कम्पनीहरू आफ्नै एआई चिप डिजाइनतर्फ उन्मुख भएका छन्।
टेकक्रञ्चका अनुसार तर आफ्नै उच्च प्रदर्शन क्षमताको चिप भए पनि माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले अन्य कम्पनीका चिप खरिद निरन्तर रहने बताए।
“हाम्रो एनभिडिया र एएमडीसँग उत्कृष्ट साझेदारी छ। उनीहरू नवप्रवर्तन गरिरहेका छन्, हामी पनि गरिरहेका छौँ,” नाडेलाले भने। “धेरैले को अगाडि छ भनेर मात्र कुरा गर्छन्। तर सधैं अगाडि रहनु नै सबैभन्दा ठूलो चुनौती हो।”
उनले थपे, “हामी भर्टिकल इन्टिग्रेसन गर्न सक्छौँ भन्दैमा सबै कुरा आफैं मात्र बनाउने भन्ने होइन,” अर्थात् अन्य आपूर्तिकर्ताका प्रविधि प्रयोग नगरी सबै प्रणाली आफैं बनाउने सोच माइक्रोसफ्टको छैन।
माइया २०० चिप माइक्रोसफ्टको ‘सुपरइन्टेलिजेन्स’ टोलीले प्रयोग गर्नेछ, जुन कम्पनीका आफ्नै अत्याधुनिक (फ्रन्टियर) एआई मोडेल विकासमा जुटेको छ। यो टोलीको नेतृत्व गुगल डीपमाइन्डका सह–संस्थापक मुस्तफा सुलेमानले गरिरहेका छन्।
माइक्रोसफ्ट भविष्यमा ओपनएआई, एन्थ्रोपिकजस्ता कम्पनीमाथिको निर्भरता घटाउने उद्देश्यले आफ्नै एआई मोडेल विकासमा काम गरिरहेको छ।
कम्पनीका अनुसार माइया २०० चिप माइक्रोसफ्टको एजुर क्लाउड प्लेटफर्ममा चलिरहेका ओपनएआईका मोडेललाई पनि समर्थन गर्न प्रयोग हुनेछ। तर अत्याधुनिक एआई हार्डवेयरमा पहुँच पाउनु अझै सबैका लागि चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ, चाहे ती बाह्य ग्राहक हुन् वा कम्पनीभित्रकै टोली।
यसै सन्दर्भमा सुलेमानले सामाजिक सञ्जाल एक्समा माइया २०० प्रयोग गर्ने पहिलो अवसर आफ्नो टोलीले पाएको भन्दै उत्साह व्यक्त गरेका छन्। “आज ठूलो दिन हो,” उनले चिप सार्वजनिक हुँदा लेखेका थिए। “हाम्रो सुपरइन्टेलिजेन्स टोलीले फ्रन्टियर एआई मोडेल विकासका क्रममा माइया २०० प्रयोग गर्ने पहिलो टोली हुनेछ।”
प्रकाशित: १७ माघ २०८२, शनिबार