एप्पलको अहिलेसम्मकै उत्कृष्ट त्रैमास: ८५ अर्ब डलर बराबरका आइफोन बिक्री

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
एप्पलको अहिलेसम्मकै उत्कृष्ट त्रैमास: ८५ अर्ब डलर बराबरका आइफोन बिक्री
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एप्पलले पहिलो त्रैमासिकमा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। विशेषगरी आइफोन बिक्रीले कम्पनीलाई ऐतिहासिक उपलब्धि दिलाएको छ। चीन र भारतजस्ता प्रमुख बजारमा बिक्री तीव्र रूपमा बढेपछि आइफोनले अहिलेसम्मकै सबैभन्दा राम्रो त्रैमासिक नतिजा दिएको एप्पलले जनाएको छ।

बिहीबार आयोजित आम्दानीसम्बन्धी सम्मेलन (अर्निङ्स कल) मा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने, “अभूतपूर्व मागका कारण आइफोनले आफ्नो इतिहासकै उत्कृष्ट त्रैमासिक दर्ता गरेको छ। विश्वका सबै भौगोलिक क्षेत्रमा नयाँ कीर्तिमान कायम भएका छन्।”

एप्पलको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले पहिलो त्रैमासिकमा ८५ अर्ब डलर बराबरका आइफोन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६९ अर्ब डलरभन्दा उल्लेखनीय रूपमा बढी हो।

प्रश्न–उत्तर सत्रका क्रममा कुकले चीनमा आइफोन बिक्रीमा ठूलो उछाल आएको जानकारी दिए। “चीनमा भएको वृद्धि आइफोनकै कारण हो, जहाँ हामीले इतिहासकै उच्च आम्दानी रेकर्ड बनायौँ,” उनले भने।

कुकका अनुसार ‘ग्रेटर चाइना’ क्षेत्रमा यो आइफोनका लागि अहिलेसम्मकै उत्कृष्ट त्रैमासिक हो। उनले सेप्टेम्बरमा सार्वजनिक गरिएको आइफोन १७ प्रतिको उत्साहका कारण बिक्री बढेको बताए। नयाँ मोडेल अघिल्ला आइफोनभन्दा निकै लोकप्रिय साबित भएको उनले उल्लेख गरे।

एप्पलको प्रतिवेदनले ग्रेटर चाइना क्षेत्रमा कुल बिक्री अघिल्लो वर्षको १८.५ अर्ब डलरबाट बढेर २५.५ अर्ब डलर पुगेको देखाएको छ। कुकले चीनमा एप्पल स्टोरको ग्राहक आवागमन वर्ष–दर–वर्ष दोहोरो अंकले बढेको पनि बताए।

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार