
काठमाडौं ।
हतियारलाई स्वतः लक्ष्य बनाउने (अटोनोमस) प्रणाली र अमेरिकाभित्रै निगरानीका लागि आफ्नो प्रविधि प्रयोग हुन नदिन चाहने सुरक्षात्मक मापदण्डका विषयमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र आर्टिफिसियल इन्टेलिजेन्स विकासकर्ता एन्थ्रोपिकबीच मतभेद चर्किएको छ। यस विषयमा जानकारी भएका तीन स्रोतले रोयटर्सलाई बताएका छन्।
यी छलफलहरू सिलिकन भ्याली र वासिङ्टनबीच बढ्दो सहकार्यको प्रारम्भिक परीक्षणका रूपमा हेरिएका छन्। लामो समयको तनावपछि अहिले अमेरिकी सरकारको नजिक देखिएको प्रविधि क्षेत्रले युद्धभूमिमा झन् शक्तिशाली बन्दै गएका एआई उपकरण कसरी प्रयोग गर्ने भन्ने विषयमा अमेरिकी सेना र गुप्तचर निकायलाई कत्तिको प्रभाव पार्न सक्छ भन्ने प्रश्न यसले उठाएको छ।
अधिकतम २० करोड डलर मूल्यको सम्झौताअन्तर्गत व्यापक छलफल भए पनि अमेरिकी रक्षा मन्त्रालय र एन्थ्रोपिकबीच सहमति हुन नसकी वार्ता ठप्प अवस्थामा पुगेको छ। यस विषयमा जानकारी भएका छ जना स्रोतले नाम नछाप्ने सर्तमा यो जानकारी दिएका हुन्।
एआई उपकरण कसरी प्रयोग गर्न मिल्छ भन्ने एन्थ्रोपिकको अडानका कारण कम्पनी र ट्रम्प प्रशासनबीचको मतभेद थप तीव्र बनेको स्रोतहरूले बताएका छन्। यसका विस्तृत विवरण यसअघि सार्वजनिक भएका थिएनन्।
ट्रम्प प्रशासनले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी ‘डिपार्टमेन्ट अफ वार’ राखेपछि सो मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया माग्दा तत्काल उत्तर दिएका छैनन्।
एन्थ्रोपिकले भने आफ्नो एआई अमेरिकी सरकारद्वारा राष्ट्रिय सुरक्षा मिसनहरूमा व्यापक रूपमा प्रयोग हुँदै आएको र ‘डिपार्टमेन्ट अफ वार’ सँग उक्त सहकार्यलाई निरन्तरता दिने उपायबारे सकारात्मक छलफल भइरहेको जनाएको छ।
यो विवादले एन्थ्रोपिकको पेन्टागनसँगको व्यावसायिक सहकार्य जोखिममा पर्न सक्ने देखिएको छ, र यो कम्पनीका लागि संवेदनशील समयमा आएको हो।
सान फ्रान्सिस्कोमा आधारित यो स्टार्टअप भविष्यमा आईपीओको तयारीमा छ। साथै, कम्पनीले अमेरिकी राष्ट्रिय सुरक्षा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न ठूलो लगानी गरेको छ र सरकारी एआई नीतिनिर्माणमा सक्रिय भूमिका खोजिरहेको छ।
एन्थ्रोपिक गत वर्ष पेन्टागनबाट सम्झौता पाउने केही प्रमुख एआई कम्पनीहरूमध्ये एक हो। यस सूचीमा अल्फाबेटको गुगल, मस्कको एक्सएआई र ओपनएआई पनि परेका रोयटर्सका अनुसार छन्।
हतियार लक्ष्य निर्धारणको विवाद
सरकारी अधिकारीहरूसँगको छलफलका क्रममा एन्थ्रोपिकका प्रतिनिधिहरूले आफ्ना एआई उपकरण पर्याप्त मानवीय निगरानीबिनै हतियार लक्ष्य निर्धारण गर्न वा अमेरिकी नागरिकमाथि निगरानी गर्न प्रयोग हुन सक्नेप्रति चिन्ता व्यक्त गरेका थिए।
पेन्टागन भने कम्पनीका प्रयोग–सम्बन्धी दिशानिर्देशप्रति असन्तुष्ट देखिएको छ। जनवरी ९ मा जारी एआई रणनीतिसम्बन्धी विभागीय मेमोअनुसार अमेरिकी कानुनको पालना गरिएसम्म निजी कम्पनीका प्रयोग नीतिको परवाह नगरी व्यावसायिक एआई प्रविधि प्रयोग गर्न पाउनुपर्ने पेन्टागन अधिकारीहरूको तर्क रहेको स्रोतहरूले बताएका छन्।
तर आगामी दिनमा पेन्टागनलाई एन्थ्रोपिकको सहकार्य आवश्यक पर्ने सम्भावना पनि उच्च छ। एन्थ्रोपिकका एआई मोडेलहरू हानि हुन सक्ने कदमबाट जोगिन तालिम दिइएका छन् र पेन्टागनका लागि ती मोडेल परिमार्जन गर्ने काम पनि कम्पनीकै प्राविधिक टोलीले गर्नुपर्ने स्रोतहरूले जनाएका छन्।
यसअघि पनि एन्थ्रोपिकको सावधानीपूर्ण अडान ट्रम्प प्रशासनसँग टकरावमा परेको सेमाफोरले रिपोर्ट गरेको थियो।
यसै साता आफ्नो व्यक्तिगत ब्लगमा लेख्दै एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआईले राष्ट्रिय सुरक्षालाई सहयोग गर्नुपर्ने तर “हामीलाई हाम्रा सत्तावादी प्रतिद्वन्द्वीझैँ बनाउने कार्यहरूमा भने प्रयोग हुनु नहुने” चेतावनी दिएका छन्।
अमोडेई मिनियापोलिसमा आप्रवासन कार्यान्वयनविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी नागरिकमाथि गरिएको घातक गोली प्रहारका आलोचक एन्थ्रोपिकका सह–संस्थापकहरूमध्ये एक हुन्। उनले ती घटनालाई सामाजिक सञ्जाल एक्समा “भयानक” भनेका थिए।
यी मृत्यु घटनाले सिलिकन भ्यालीका केही वृत्तमा सरकारी प्रयोजनका लागि आफ्ना प्रविधि सम्भावित हिंसामा प्रयोग हुन सक्नेप्रति चिन्ता थप बढाएको छ।
प्रकाशित: १७ माघ २०८२, शनिबार