सशक्त सुरुवातपछि ओपनएआईको ‘सोरा’ एप संकटमा, डाउनलोड र खर्च दुवै घट्दै

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
सशक्त सुरुवातपछि ओपनएआईको ‘सोरा’ एप संकटमा, डाउनलोड र खर्च दुवै घट्दै

काठमाडौं ।

गत अक्टोबरमा एप्प स्टोरको शीर्ष स्थानमा पुग्दै शानदार सुरुवात गरेको ओपनएआईको भिडियो–निर्माण एप ‘सोरा’ अहिले भने सङ्घर्षरत देखिएको छ। नयाँ तथ्यांकअनुसार एआई भिडियो सामाजिक सञ्जालप्रति सुरुआती उत्साह कम हुँदै जाँदा एपको डाउनलोड संख्या र उपभोक्ता खर्च दुवैमा गिरावट आएको छ।

टेकक्रञ्चका अनुसार ओपनएआईको भिडियो जेनेरेसन मोडेल ‘सोरा २’ मा आधारित आईओएस संस्करणले निमन्त्रणामार्फत मात्र उपलब्ध हुँदाहुँदै पनि पहिलो दिनमै १ लाखभन्दा बढी इन्स्टल हासिल गरेको थियो।

त्यसपछि सोरा अमेरिकी एप्प स्टोरको नम्बर १ स्थानमा पुग्यो र च्याटजीपीटीभन्दा छिटो १० लाख डाउनलोडको आँकडा पार गर्‍यो। आईओएसमा मात्र सीमित र इन्भाइट–ओनली अवस्थामा यस्तो सफलता हासिल गर्नु उल्लेखनीय मानिएको थियो।

तर मोबाइलमा सार्वजनिक भएको केही सातामै सोराको लोकप्रियता घट्न थालेको देखिन्छ।

बजार विश्लेषण संस्था एपफिगर्सका अनुसार डिसेम्बरमा सोराको डाउनलोड संख्या अघिल्लो महिनाको तुलनामा ३२ प्रतिशतले घट्यो। चाडपर्वको समयमा नयाँ स्मार्टफोन उपहार पाउने र फुर्सदमा नयाँ एप प्रयोग गर्ने प्रवृत्ति बढ्ने भएकाले यो गिरावट झनै चिन्ताजनक मानिएको छ।

जनवरी २०२६ मा पनि यो प्रवृत्ति जारी रह्यो। डाउनलोड संख्या महिना–दर–महिनामा ४५ प्रतिशतले घट्दै १२ लाखमा झरेको एपफिगर्सले जनाएको छ। उपभोक्ता खर्च पनि ३२ प्रतिशतले घटेको छ। ओपनएआईले यस विषयमा प्रतिक्रिया दिन तत्काल उत्तर दिएको छैन।

एआई–स्वादको टिकटकजस्तै देखिने सोराले प्रयोगकर्तालाई टेक्स्ट निर्देशन (प्रोम्प्ट) प्रयोग गरी एआई भिडियो बनाउन अनुमति दिन्छ। यसमा प्रयोगकर्ताले आफू र आफ्ना साथीहरूलाई भिडियोका मुख्य पात्रका रूपमा प्रयोग गर्न सक्ने सुविधा छ। अन्य प्रयोगकर्ताले साझा भिडियो रिमिक्स गरेर थप परिमार्जन गर्न सक्छन्। भिडियोमा संगीत, ध्वनि प्रभाव र संवाद पनि समावेश गर्न सकिन्छ।

अहिलेसम्म सोराको एपले आईओएस र एन्ड्रोइड दुवैमा गरी कुल ९६ लाख डाउनलोड र १४ लाख डलर बराबरको उपभोक्ता खर्च हासिल गरेको छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा अमेरिका (११ लाख डलर) को छ। त्यसपछि जापान, क्यानडा, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन्।

यो महिना सोरामा ३ लाख ६७ हजार डलर खर्च भएको छ, जुन डिसेम्बरको उच्चतम ५ लाख ४० हजार डलरभन्दा कम हो।

अमेरिकी एप्प स्टोरमा सोरा अब शीर्ष १०० निःशुल्क एपभित्र पर्दैन। यो हाल १०१ औँ स्थानमा छ। ‘फोटो एन्ड भिडियो’ श्रेणीमा यसको उच्चतम स्थान ७ औँ हो। अमेरिकी गुगल प्ले स्टोरमा भने यसको अवस्था झन कमजोर छ, जहाँ यो शीर्ष निःशुल्क एपमध्ये १८१ औँ स्थानमा छ।

यी आँकडालाई एप पूर्ण रूपमा असफल भयो भन्न मिल्दैन, तर चिन्ताजनक भने अवश्य छन्।

विशेषज्ञहरूका अनुसार सोराको गिरावट पछाडि धेरै कारणहरू एकसाथ काम गरिरहेका छन्। गुगलको जेमिनी, विशेषगरी यसको ‘नानो बनाना’ मोडेल, कडा प्रतिस्पर्धीका रूपमा उदाएको छ। त्यस्तै, मेटा एआईको एपले एआई–सञ्चालित ‘भाइब्स’ भिडियो सार्वजनिक गरेपछि अक्टोबरमा डाउनलोड बढेको थियो, जुन सोराको उदयसँगै भएको थियो।

यससँगै सोरामा कपीराइट उल्लङ्घन नियन्त्रण गर्न ओपनएआईलाई कठिनाइ भएको छ। सुरुमा कम्पनीले हलिउड स्टुडियोहरूलाई आफ्ना बौद्धिक सम्पत्ति प्रयोग नगर्न चाहे ‘अप्ट–आउट’ गर्नुपर्ने नीति अपनाएको थियो, जसले स्टुडियोहरूको विरोध निम्त्यायो।

कडा नियन्त्रण नहुँदा प्रयोगकर्ताले स्पन्जबब र पिकाचुजस्ता लोकप्रिय पात्र प्रयोग गरी भिडियो बनाएका थिए, जसले सोराको लोकप्रियता बढाएको थियो।

कानुनी जोखिम कम गर्न ओपनएआईले पछि ‘अप्ट–इन’ मोडेल अपनाउँदै एपमा कडा प्रतिबन्धहरू लागू गर्‍यो। गत महिना डिज्नीसँग सम्झौता भएपछि सोरामा डिज्नीका पात्र प्रयोग गर्न पाइने व्यवस्था भए पनि त्यसले अहिलेसम्म डाउनलोड वा खर्च बढाउन सकेको छैन। कतिपय प्रयोगकर्ताले डिज्नीका पात्र प्रयोग गरेर बनाएका आपत्तिजनक भिडियोका कारण डिज्नीको छविमाथि पनि प्रश्न उठेको छ।

सोरा २ लाई सामाजिक सञ्जालमा ठूलो परिवर्तन ल्याउने, ‘एआईको टिकटक’ भनेर प्रचार गरिएको थियो। तर धेरै प्रयोगकर्ताले आफ्नो अनुहार वा पहिचान अरूले एआई भिडियो बनाउन प्रयोग गरुन् भन्ने चाहना देखाएनन्।

चिनिएका अनुहारको कमी र व्यावसायिक आईपी प्रयोगमा प्रतिबन्धका कारण प्रयोगकर्ताको चासो घट्दै गएको देखिन्छ। अब कपीराइट सम्झौता विस्तार वा नयाँ फिचरमार्फत सोराले पुनरागमन गर्न सक्छ कि सक्दैन, त्यो भने समयले नै देखाउने टेकक्रञ्चले उल्लेख गरेको छ।

 

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार