रोबोट उत्पादनमा केन्द्रित हुन टेस्लाले मोडल एस र एक्स बन्द गर्ने

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
रोबोट उत्पादनमा केन्द्रित हुन टेस्लाले मोडल एस र एक्स बन्द गर्ने
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

टेस्लाले आगामी त्रैमासिकदेखि आफ्नो मोडल एस र मोडल एक्स विद्युतीय कारको उत्पादन “झण्डै पूर्ण रूपमा रोक्ने” निर्णय गरेको छ। सन् २०२५ आर्थिक वर्षको आम्दानीसम्बन्धी बैठकमा प्रमुख कार्यकारी अधिकृत इलन मस्कले कम्पनी स्वायत्त प्रविधि केन्द्रित भविष्यतर्फ अघि बढ्दै भएकाले यी मोडललाई “सम्मानजनक रूपमा अन्त्य गर्ने समय आएको” बताएका हुन्।

स्टक उपलब्ध रहुन्जेलसम्म मोडल एस र एक्स किन्न सकिने भए पनि उत्पादन पूर्ण रूपमा बन्द भएपछि ती मोडल पुनः नल्याइने टेस्लाले जनाएको छ। कम्पनीले ती गाडी प्रयोग भइरहँदासम्म आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

इन्ग्याजेटका अनुसार मोडल एस र एक्स उत्पादन हुँदै आएको क्यालिफोर्नियास्थित फ्रेमन्ट कारखानाको स्थान अब ‘अप्टिमस’ मानवरूपी (ह्युमानोइड) रोबोट उत्पादनका लागि प्रयोग गरिनेछ।

मोडल एस सन् २०१२ देखि र मोडल एक्स सन् २०१५ देखि उत्पादनमा थिए। तर पछिल्ला वर्षहरूमा ती मोडलको माग घट्दै गएको छ। सन् २०२५ मा टेस्लाले १५ लाख ८५ हजार २७९ मोडल ३ र मोडल वाई गाडी बिक्री गर्दा मोडल एस र एक्स को बिक्री ४ लाख १८ हजार २२७ युनिटमा सीमित रह्यो।

साथै, अमेरिकाबाट आयात हुने भएकाले चीनले लगाएको भन्सार शुल्कका कारण टेस्लाले सन् २०२५ को मध्यतिर चीनमा मोडल एस र एक्स को बिक्री पनि बन्द गरेको थियो।

आम्दानी बैठकमा मस्कले हालको मोडल एस र एक्स उत्पादन क्षेत्रमा दीर्घकालीन रूपमा वार्षिक १० लाख अप्टिमस रोबोट उत्पादन गर्ने लक्ष्य रहेको बताए। केही दिनअघि स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा मस्कले टेस्लाले सन् २०२६ को अन्त्यसम्म अप्टिमस रोबोट सर्वसाधारणलाई बिक्री सुरु गर्ने घोषणा गरेका थिए।

मस्कले यसलाई अहिलेसम्मकै “सबैभन्दा ठूलो उत्पादन” हुने दाबी गर्दै आएका छन्, यद्यपि हालसम्मका प्रदर्शनले अपेक्षाअनुसार प्रभाव पार्न नसकेको आलोचना पनि छ।

यसैबीच, टेस्लाको आम्दानी प्रतिवेदनले कम्पनीले मस्कको अर्को कम्पनी एक्सएआई मा २ अर्ब अमेरिकी डलर लगानी गरेको खुलासा गरेको छ। यसअघि सन् २०२४ मा टेस्लाका सेयरधनीहरूले एक्सएआई स्थापना टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धा भएको भन्दै मस्कविरुद्ध मुद्दा दायर गरेका थिए।

मस्कले भने टेस्लालाई केवल विद्युतीय गाडी निर्माता नभई एआई कम्पनीका रूपमा प्रस्तुत गर्दै आएका छन्। अन्ततः सन् २०२५ को अन्त्यतिर टेस्लाका सेयरधनीहरूले कम्पनीको बजार मूल्य ८.५ ट्रिलियन डलर पुगेमा लागू हुने सर्तसहित मस्कको एक ट्रिलियन डलर बराबरको पारिश्रमिक प्याकेज स्वीकृत गरेका थिए।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार