गुगलको ‘नानो बनाना’ इमेज जेनेरेटर अब क्रोममा पनि उपलब्ध

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
गुगलको ‘नानो बनाना’ इमेज जेनेरेटर अब क्रोममा पनि उपलब्ध

काठमाडौं ।

गुगलले क्रोम मा ‘नानो बनाना’ इमेज जेनेरेटर ल्यायोजीमेललाई एआई–केन्द्रित रूपमा पुनः डिजाइन गरेपछि गुगलले अब आफ्नो वेब ब्राउजर क्रोम मा पनि जेमिनी–सञ्चालित नयाँ सुविधाहरू विस्तार गर्न थालेको छ। आजदेखि क्रोम का लागि नयाँ–नयाँ फिचरहरू क्रमशः उपलब्ध हुँदैछन् भने आगामी केही महिनामा थप सुविधाहरू थपिने गुगलले जनाएको छ।

नयाँ फिचरमध्ये पहिलो हो जेमिनी साइडबार। जेमिनी इन क्रोम प्रयोगकर्ताका लागि उपलब्ध यस साइडबारमार्फत प्रयोगकर्ताले जेमिनीसँग च्याट गर्न सक्नेछन् र एउटै कुराकानीलाई धेरै ट्याबहरूमा निरन्तरता दिन सक्नेछन्। गुगलका अनुसार यो सुविधा विशेषगरी मल्टिटास्किङ गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुनेछ।

“हाम्रा परीक्षणकर्ताहरूले धेरै ट्याबमा रहेका विकल्पहरू तुलना गर्न, विभिन्न वेबसाइटका उत्पादन समीक्षा सारांश बनाउन र व्यस्त तालिकामा कार्यक्रमका लागि समय खोज्न यसलाई प्रयोग गरिरहेका छन्,” गुगलले जनाएको छ।

इन्ग्याजेटका अनुसार यही साइडबारमार्फत क्रोममा थपिएको दोस्रो प्रमुख सुविधा हो नानो बनाना। जेमिनी एपमा सफलतापूर्वक प्रयोग भइसकेको गुगलको आफ्नै इमेज जेनेरेटर अब सिधै क्रोम भित्र उपलब्ध भएको छ। अब जेमिनी बाट एआई इमेज बनाउन नयाँ ट्याब खोल्नुपर्ने छैन। त्यस्तै, पहिले डाउनलोड गरेर पुनः अपलोड गर्नुपर्ने झन्झट बिना नै प्रयोगकर्ताले खुला ट्याबमै रहेका तस्बिरहरू सम्पादन गर्न सक्नेछन्।

आगामी दिनमा गुगलले पर्सनल इन्टेलिजेन्स फिचर पनि क्रोममा ल्याउने योजना बनाएको छ। जनवरीको सुरुमै जेमिनी एपमा सार्वजनिक गरिएको यस सुविधाले प्रयोगकर्ताले जेमिनी सँग गरेका विगतका कुराकानीहरू सम्झन सक्ने क्षमता दिनेछ।

यसले क्रोमलाई अझ व्यक्तिगत बनाउने गुगलको दावी छ। “क्रोम मा पर्सनल इन्टेलिजेन्स आएपछि ब्राउजिङ अनुभव सामान्य उपकरणबाट तपाईंलाई बुझ्ने, सान्दर्भिक र सन्दर्भ–अनुसार सहयोग गर्ने भरपर्दो साझेदारमा रूपान्तरण हुनेछ,” गुगलले जनाएको छ।

यसैबीच क्रोम भित्रको जेमिनीले कनेक्टेड एप्स फिचरलाई पहिले नै समर्थन गरिरहेको छ जसले जीमेल र क्यालेण्डरलगायत गुगलका अन्य सेवाबाट जानकारी तान्न सक्छ। एक प्रेस ब्रिफिङमा गुगलका कर्मचारीले जेमिनी लाई आफ्ना बालबालिकाको मार्च ब्रेक कहिले पर्छ भनेर सोध्दा सहायकले बिना निर्देशन इमेल इनबक्सबाट सही मिति पत्ता लगाएको प्रदर्शन गरिएको थियो।

अन्त्यमा गुगलले क्रोमभित्रै अटो ब्राउज नामक नयाँ फिचरको पनि पूर्वावलोकन गरेको छ। डेमोमा एक कर्मचारीले जेमिनीलाई केही वर्षअघि किनेको जस्तै हिउँदे ज्याकेट फेला पारेर किन्न अनुरोध गरे। जेमिनीले पहिले काम गर्ने योजना बनायो—इमेल इनबक्समा खोजेर सही मोडेल र साइज पहिचान गर्‍यो—र त्यसपछि किनमेल प्रक्रिया सुरु गर्‍यो।

यो प्रक्रिया चलिरहँदा प्रयोगकर्ता क्रोममा अन्य काम गर्न स्वतन्त्र थिए। तर जेमिनीले महत्वपूर्ण चरणमा प्रयोगकर्ताको अनुमति माग्थ्यो—जस्तै लगइन विवरण आवश्यक पर्दा वा भुक्तानीका लागि क्रेडिट कार्ड जानकारी चाहिँदा।

डेमो हेर्दा प्रयोगकर्ताले आफैं किनमेल गर्दा छिटो हुन सक्ने देखिए पनि गुगलका अनुसार यो सुविधा विशेषगरी एउटै किसिमको काम दोहोर्‍याउने बानी भएका प्रयोगकर्ताका लागि उपयोगी हुनेछ। उदाहरणका लागि हरेक हप्ता उस्तै किराना सामग्री अर्डर गर्ने प्रयोगकर्ताका लागि जेमिनी ले प्रक्रिया स्वचालित गर्न सक्छ। हाल यो फिचर परीक्षण चरणमा रहेको छ। गुगल एआई प्रो र अल्ट्रा सब्स्क्राइबरहरूले अमेरिकामा आजदेखि अटो ब्राउज प्रयोग गर्न सक्नेछन्।

 

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार