माइक्रोनले सिंगापुरमा २४ अर्ब डलरको मेमोरी चिप कारखाना बनाउने योजना सार्वजनिक

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
माइक्रोनले सिंगापुरमा २४ अर्ब डलरको मेमोरी चिप कारखाना बनाउने योजना सार्वजनिक

काठमाडौं ।

अमेरिकी मेमोरी चिप निर्माता माइक्रोन टेक्नोलोजीले सिंगापुरमा २४ अर्ब डलर लगानीमा नयाँ चिप उत्पादन कारखाना निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। विश्वव्यापी रूपमा मेमोरी चिपको गम्भीर अभाव भइरहेका बेला उत्पादन क्षमता बढाउने लक्ष्यसहित यो कदम चालिएको कम्पनीले मंगलबार जनाएको छ।

एआई पूर्वाधार निर्माणको होडले उपभोक्ता इलेक्ट्रोनिक्सदेखि एआई सेवा प्रदायकसम्मका क्षेत्रहरूमा सबै प्रकारका मेमोरी चिपको अभाव सिर्जना गरिरहेको सन्दर्भमा यो घोषणा आएको हो।

माइक्रोनका अनुसार आगामी १० वर्षभित्र निर्माण हुने अत्याधुनिक वेफर फ्याब्रिकेसन प्लान्टले एआई र डाटा–केन्द्रित एप्लिकेसनको विस्तारसँगै बढ्दो एनएएनडी मेमोरी चिपको माग पूरा गर्न मद्दत गर्नेछ। करिब ७ लाख वर्गफुट (६५ हजार वर्ग मिटर) क्षेत्रफलमा फैलिएको क्लिनरूममा २०२८ को दोस्रो छमाहीदेखि वेफर उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार हाल माइक्रोनले आफ्नो ९८ प्रतिशत फ्ल्यास मेमोरी चिप सिंगापुरमै उत्पादन गर्दै आएको छ। त्यहाँ कम्पनीले एआई चिपमा प्रयोग हुने हाइ ब्यान्डविथ मेमोरी (एचबीएम) का लागि ७ अर्ब डलरको एड्भान्स्ड प्याकेजिङ प्लान्ट पनि निर्माण गरिरहेको छ, जसको उत्पादन २०२७ देखि सुरु हुने बताइएको छ। उक्त एचबीएम प्याकेजिङ सुविधा पनि २०२७ मै आपूर्तिमा योगदान दिने कम्पनीले जनाएको छ।

विश्लेषकहरूका अनुसार मेमोरी चिप आपूर्ति अभाव २०२७ को अन्त्यसम्म लम्बिन सक्छ। यद्यपि माइक्रोनसहित उसका प्रमुख प्रतिस्पर्धी सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले नयाँ उत्पादन लाइनहरू थप्ने र उत्पादन सुरु गर्ने समय अगाडि सार्ने तयारी गरिरहेका छन्।

ट्रेण्डफोर्सका विश्लेषक ब्रायन आओका अनुसार माग आपूर्तिभन्दा धेरै भएकाले इन्टरप्राइज एसएसडीका कन्ट्र्याक्ट मूल्य ५५–६० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

उनका शब्दमा, “एआई इन्टरफेस एप्लिकेसन विस्तारसँगै उच्च–प्रदर्शन स्टोरेज उपकरणको माग अपेक्षाभन्दा धेरै छिटो बढिरहेको छ, र उत्तर अमेरिकी क्लाउड सेवा प्रदायकहरूले एआई एजेन्ट बजारको अवसर लिन गत वर्षको अन्त्यदेखि नै आक्रामक अर्डर दिइरहेका छन्।”

ट्रेण्डफोर्सको तथ्यांकअनुसार २०२५ को तेस्रो त्रैमासिकमा माइक्रोन १३ प्रतिशत बजार हिस्सासहित विश्वको चौथो ठूलो फ्ल्यास मेमोरी चिप आपूर्तिकर्ता थियो।

यसैबीच, गत साता माइक्रोनले ताइवानको पावरचिपबाट १.८ अर्ब डलरमा फ्याब साइट खरिद गर्ने विषयमा छलफल भइरहेको जनाएको थियो, जसले यसको डीआरएएम वेफर उत्पादन क्षमता बढाउनेछ।

यता एसके हाइनिक्सले पनि नयाँ कारखानाको सञ्चालन समय तीन महिना अघि सार्ने र अर्को नयाँ प्लान्ट फेब्रुअरीमै सञ्चालनमा ल्याउने योजना रहेको जानकारी रोयटर्सलाई दिएको छ।

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...