
काठमाडौं ।
नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अस्ट्रेलियामा पनि विस्तार भएको छ। नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्टे«लियामा आफ्नो उपस्थिती जनाएको हो।
डिजीस्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साईबर सुरक्षा र डाटा साइन्सजस्ता विषयहरुमा दक्ष बनाउने डिजी स्कूलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए।
डिजी स्कूल अष्ट्रेलिया मार्फत विद्यालयतहका विद्यार्थीहरुलाई भर्जुअल माध्यामबाट आईटी तथा कोडिङ शिक्षा उपलब्ध गराइने अध्यक्ष श्रेष्ठको भनाई छ। अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरुमा ग्लोबल आईटी सर्टिफिकेशन कार्यक्रमहरु शुरु गरिनेछ, जसले अष्ट्रेलियाका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सहयोग पुर्याउनेछ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युगमा आईटी शिक्षा महत्वपूर्ण रहेको बताए। आईटी शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सकिने मल्लको भनाई छ।
अष्टे«लियामा आयोजित डिजी स्कूल शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजु बानियाँले आईटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए।
अष्ट्रेलियामा आयोजित शुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरुका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरुको सहभागिता रहेको थियो जसले डिजी स्कूलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ। अन्तराष्ट्रिय विस्तारसँगै डिजी स्कूलले विश्वभरका बालबालिकालाई भविष्य उन्मुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ।
प्रकाशित: १३ माघ २०८२, मंगलवार