अब गुगल फोटोजले नै ‘मिम’ बनाइदिने

  • Technology Khabar | १२ माघ २०८२, सोमबार
अब गुगल फोटोजले नै ‘मिम’ बनाइदिने

काठमाडौं ।

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउने बिग टेक कम्पनीहरूको निरन्तर प्रयासअन्तर्गत, गुगलले अब मिम जेनरेटर सार्वजनिक गरेको छ। गुगल फोटोज मा थपिएको नयाँ फिचर ‘मी मिम’ ले प्रयोगकर्तालाई आफूजस्तै देखिने कृत्रिम संस्करण प्रयोग गरेर व्यक्तिगत मिम बनाउन अनुमति दिन्छ।

गुगलका अनुसार मी मिम भनेको “आफ्ना तस्बिर प्रयोग गरेर सहज रूपमा रमाइलो सामग्री सिर्जना गर्ने र साथी–परिवारसँग साझा गर्न तयार बनाउने सरल उपाय” हो। यस फिचरमा प्रयोगकर्ताले विभिन्न रेडिमेड टेम्प्लेट रोज्न सक्छन् वा चाहेको खण्डमा आफ्नै हास्यास्पद तस्बिर अपलोड गरेर पनि मिम बनाउन सक्छन्।

टेकक्रञ्चका अनुसार यो फिचर अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन। गुगलका एक प्रतिनिधिले मी मिम आगामी केही हप्ताभित्र एण्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि क्रमशः उपलब्ध गराइने जानकारी दिएका छन्।

फिचर उपलब्ध भएपछि गुगल फोटोज एपमा गएर स्क्रिनको तल रहेको क्रियटमा ट्याप गरेर मी मिम चयन गर्न सकिन्छ। त्यसपछि टेम्प्लेट छान्न र एउटा सन्दर्भ तस्बिर थप्न भनिन्छ। तयार भएको मिम मन नपरेमा फेरि जेनेरेट गर्ने विकल्प पनि उपलब्ध हुन्छ।

गुगलका अनुसार मी मिमले राम्रो उज्यालो भएको, स्पष्ट र अगाडिबाट खिचिएको पोर्ट्रेट तस्बिरमा सबैभन्दा राम्रो नतिजा दिन्छ। तर कम्पनीले यो फिचर अझै प्रयोगात्मक चरणमै रहेकाले सिर्जना भएका तस्बिरहरू मूल फोटोसँग पूर्ण रूपमा नमेलिन सक्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...