
काठमाडौं ।
टिकटक को स्वामित्व संरचनामा परिवर्तन भएपछि, एपभित्र आएको सूचनामार्फत अद्यावधिक गरिएको गोपनीयता नीतिबारे जानकारी पाएसँगै अमेरिकामा टिकटक प्रयोगकर्ताहरू सामूहिक रूपमा चिन्तित देखिएका छन्।
संशोधित नीतिमा अमेरिकी संयुक्त उद्यम अन्तर्गत सेवाको प्रयोग सर्तहरू उल्लेख गरिएका छन्, जसमा टिकटकले सङ्कलन गर्न सक्ने स्थानसम्बन्धी विवरण पनि समेटिएको छ।
नीतिमा प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत जानकारी—जस्तै “यौन जीवन वा यौन अभिमुखता, ट्रान्सजेन्डर वा ननबाइनरी स्थिति, नागरिकता वा आप्रवासन स्थिति”—समेत सङ्कलन गर्न सकिने भाषा समावेश गरिएको भन्दै धेरै प्रयोगकर्ताले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन्।
तर व्यापक डरका बाबजुद, यो खुलासा नयाँ होइन। टिकटक को स्वामित्व सम्झौता सम्पन्न हुनुअघि नै गोपनीयता नीतिमा यही भाषा समावेश थियो।
टेकक्रञ्चका अनुसार यो प्रावधान मुख्यतः क्यालिफोर्नियाको कन्जुमर प्राइभेसी एक्टजस्ता राज्यस्तरीय गोपनीयता कानुनको पालना गर्न राखिएको हो, जसले कम्पनीहरूलाई उपभोक्ताबाट कुन–कुन “संवेदनशील जानकारी” सङ्कलन गरिन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाउन बाध्य बनाउँछ। यस्तै किसिमका खुलासा अन्य सामाजिक सञ्जाल एपहरूको नीतिमा पनि पाइन्छ।
प्रयोगकर्ताको चिन्ता किन बढ्यो र नीति यसरी किन लेखिएको छ भन्ने बुझ्न वर्तमान राजनीतिक परिवेश र टिकटकले सामना गरिरहेको कानुनी दायित्व दुवैलाई हेर्न आवश्यक छ।
नीतिअनुसार, प्रयोगकर्ताले पोस्ट गर्ने सामग्री वा सर्वेक्षणमार्फत साझा गर्ने विवरणबाट टिकटक ले केही जानकारी प्रशोधन गर्न सक्छ। यसमा “जातीय वा नश्लीय उत्पत्ति, राष्ट्रियता, धार्मिक आस्था, मानसिक वा शारीरिक स्वास्थ्यसम्बन्धी निदान, यौन जीवन वा यौन अभिमुखता, ट्रान्सजेन्डर वा ननबाइनरी स्थिति, नागरिकता वा आप्रवासन स्थिति, वा वित्तीय जानकारी” समावेश हुन सक्छ।
वर्तमान राजनीतिक माहोललाई हेर्दा, यस्तो भाषा अमेरिकी प्रयोगकर्तालाई असहज लाग्नु स्वाभाविक मानिन्छ। ट्रम्प प्रशासनअन्तर्गत आप्रवासन प्रवर्तन कडा बन्दै जाँदा देशभर विरोध प्रदर्शन भएका छन्, जसको केन्द्र हाल मिनेसोटा बनेको छ।
मिनेसोटामा आईसीई (इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट) को उपस्थितिको विरोधमा शुक्रबार सयौँ व्यवसायले ‘आर्थिक ब्ल्याकआउट’ गर्दै पसल बन्द गरेका थिए। पछिल्ला साताहरूमा स्थानीय बासिन्दा र आईसीई एजेन्टबीचको झडपले हजारौँ गिरफ्तारी र अमेरिकी नागरिक रेनी गुडको मृत्यु समेत भएको छ।
तर टिकटकको गोपनीयता नीतिमा यस्तो भाषा यी घटनाभन्दा पहिल्यै समावेश थियो। सन् २०२४ अगस्ट १९ मा अद्यावधिक गरिएको अघिल्लो नीतिमा पनि कम्पनीले सङ्कलन र प्रयोग गर्ने केही जानकारी राज्य कानुनअनुसार “संवेदनशील व्यक्तिगत जानकारी” पर्न सक्ने स्पष्ट पारेको थियो।
प्रकाशित: १२ माघ २०८२, सोमबार