
काठमाडौं ।
डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नरही दिगो र पेसागत व्यवसाय निर्माणमा केन्द्रित गर्ने उद्देश्यसहित ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ सुरु भएको छ। नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा आजदेखि यहाँ चितवनको होटल सिराइचुलीमा मेला सुरु भएको हो।
डिजिटल क्रिएटर्सको ‘इकोसिस्टम’ सशक्त बनाउने उद्देश्यसहित बहु–सहर कार्यक्रमको औपचारिक सुरुआत चितवनबाट गरिएको र निरन्तर अन्य सहरमा पनि सञ्चालन हुने दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
चितवनमा पहिलो पटक आयोजना गरिएको संस्करणमा ८०० भन्दाबढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता रहेको र त्यस क्रममा समूह छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा ‘पिच टु सक्सेस’ कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आयुष्मान जोशी, क्याविनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीलगायत वक्ता तथा कलाकारको उपस्थिति थियो।
क्रिएटर्स मेलाअन्तर्गत यही माघ १० गते नेपालगञ्जमा, १६ र १७ गते काठमाडौँमा दुईदिने ‘फिनाले’ आयोजना गरिने जनाइएको छ। काठमाडौँ कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ रहने र जहाँ छनोट गरिएका क्रिएटर्सले नेपालका अग्रणी ‘कर्पोरेट’ नेतृत्वसमक्ष आफ्ना व्यावसायिक अवधारणाहरू प्रस्तुत गर्दै प्रत्यक्ष प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्ने अपेक्षा गरिएको छ।
“यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको दूरी घटाउने उद्देश्यले तयार गरिएको हो । प्रविधि, डिजिटल प्लेटफर्ममार्फत आम्दानी तथा डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समेट्दै यस मेलाले क्रिएटर्सलाई आफ्ना सिर्जनात्मक क्षमतालाई दीर्घकालीन पेसा र व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ”, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने।
मेलाले नेपालको रचनात्मक अर्थतन्त्र सुदृढ बनाउने अमेरिकाको प्रतिबद्धता झल्काउने उल्लेख गर्दै उनले यसले ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत उद्यमशीलता र रोजगारी सिर्जनामा सहयोग गरिरहेको उल्लेख गरे।
नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावमा सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारसम्म पुर्याउने लक्ष्य रहेको हार्करले बताए ।
सन् २०२३ मा सुरुआत भएको क्रिएटर्स मेला हाल चौथो संस्करणमा पुगेको छ । यो संस्करण पहिलो पटक नेपालमा आयोजना गरिएको हो। ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रलाई व्यावसायिक बनाउँदै नेपालभर समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ३ माघ २०८२, शनिबार