स्पेसएक्सले फ्लोरिडाबाट कक्षमा प्रक्षेपण गर्‍यो २९ वटा स्टारलिंक स्याटेलाइट

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
स्पेसएक्सले फ्लोरिडाबाट कक्षमा प्रक्षेपण गर्‍यो २९ वटा स्टारलिंक स्याटेलाइट
फाइल तस्बिर

काठमाडौं ।

स्पेसएक्सको फाल्कन–९ रकेटले सोमबार (जनवरी १२) फ्लोरिडाबाट २९ वटा स्टारलिंक स्याटेलाइटलाई न्यून पृथ्वी कक्षामा सफलतापूर्वक प्रक्षेपण गरेको छ।

दुई चरणको यो रकेट केप क्यानाभेरल स्पेस स्टेशनस्थित स्पेस लन्च कम्प्लेक्स–४० (एसएलसी-४०) बाट स्थानीय समयअनुसार अपराह्न ४:०८ बजे (२१:०८ जीएमटी) उडेको थियो र करिब ९ मिनेटपछि अन्तरिक्षमा प्रवेश गरेको थियो। ‘ग्रुप ६–९८’ अन्तर्गतका यी स्याटेलाइटहरू फाल्कन–९ को माथिल्लो चरणले दोस्रो पटक इन्जिन प्रज्वलन गरेपछि र केही समय ‘कोस्ट’ गरेपछि करिब ५० मिनेटमा कक्षामा तैनाथ गरिएका हुन्।

“२९ वटा स्टारलिंक स्याटेलाइटको तैनाथी पुष्टि भयो,” स्पेसएक्सले सामाजिक सञ्जाल एक्समा जनाएको छ।

स्पेस डटकमका अनुसार यो प्रक्षेपण फाल्कन–९ को पहिलो चरण (बुस्टर १०७८) को १३औँ उडान थियो। उक्त बुस्टरले पुनः सफलतापूर्वक प्रोपल्सिभ अवतरण गर्दै एटलान्टिक महासागरमा रहेको ड्रोनसिप ‘ए सर्टफल अफ ग्राभिटास’ मा अवतरण गरेको छ।

स्टारलिंक सेवाले विश्वका ती क्षेत्रहरूमा पनि ब्रडब्यान्ड इन्टरनेट उपलब्ध गराउने लक्ष्य राखेको छ जहाँ अन्य माध्यमबाट कनेक्टिभिटी पहुँचमा छैन। करिब ९,५०० सक्रिय स्याटेलाइटहरू रहेको यो विशाल स्याटेलाइट समूहले हवाईजहाजभित्रको वाइ–फाइ सेवा र छनोट गरिएका सेवा प्रदायकमार्फत सेल–टु–स्याटेलाइट क्षमतासमेत समर्थन गर्छ।

सोमबारको यो प्रक्षेपण सन् २०२६ का लागि स्पेसएक्सको पाँचौँ प्रक्षेपण हो। कम्पनीको इतिहासमा अहिलेसम्म कुल ६१५ प्रक्षेपण सम्पन्न भइसकेका छन्।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार