एआई पहलमा भारतलाई अमेरिकी निम्तो

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आपूर्ति शृङ्खलालाई सुरक्षित गर्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा सुरु गरिएको नयाँ अन्तर्राष्ट्रिय पहलमा सहभागी हुन भारतलाई आगामी महिना औपचारिक रूपमा आमन्त्रण गरिने नयाँदिल्लीका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले सोमबार बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतले रुसी तेल खरिद जारी राखेको आरोप लगाउँदै अधिकांश भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको सम्बन्धमा केही चिसोपन आएको थियो। यद्यपि, दुवै पक्षले लामो समयदेखि रोकिएको व्यापार सम्झौतामा वार्ता अघि बढाइरहेका छन्।

अमेरिकी दूतावासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजदूत गोरले संयुक्त राज्य अमेरिकाले गत महिना सुरु गरेको ‘प्याक्स सिलिका’ पहलको पूर्ण सदस्य बन्न भारतलाई आग्रह गरिने जानकारी दिए।

अमेरिकाको नेतृत्वमा अघि बढाइएको यस प्रयासमा जापान, दक्षिण कोरिया, सिङ्गापुर र अस्ट्रेलियाजस्ता प्रमुख एसिया–प्यासिफिक साझेदारहरूसँगै इजरायल पनि सहभागी छन्। यस पहलको मुख्य उद्देश्य एआई आपूर्ति शृङ्खलामा चीनको बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउनु हो।

‘शान्ति’ र ‘सिलिकन’ का लागि प्रयोग हुने ल्याटिन शब्दबाट नामकरण गरिएको ‘प्याक्स सिलिका’ गठबन्धनले चीनमा निर्भर नरहने गरी अत्यावश्यक प्रविधि र कम्पोनेन्टहरूको सुरक्षित आपूर्ति शृङ्खला निर्माण गर्ने लक्ष्य राखेको छ।

“विश्वले द्रुत गतिमा नयाँ प्रविधि अँगाल्दै गएको सन्दर्भमा यो पहलको सुरुदेखि नै भारत र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्नु अत्यावश्यक छ”, गोरले आफ्नो कार्यभार सम्हाल्नुअघि भने।

भारतलाई अमेरिकाका लागि ‘कुनै पनि साझेदारभन्दा कम महत्त्वपूर्ण नभएको’ मुलुकका रूपमा वर्णन गर्दै उनले द्विपक्षीय सम्बन्धलाई ‘अर्को स्तरमा’ पुर्‍याउने स्पष्ट जनादेश लिएर आफू आएको उल्लेख गरे। उनका अनुसार यो सम्बन्ध ‘विश्वको सबैभन्दा पुरानो लोकतन्त्र र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ बीचको साझेदारी हो।

राजदूत गोरले राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको व्यक्तिगत सम्बन्धले पनि द्विपक्षीय सहकार्यलाई बल दिएको उल्लेख गरे।

“संयुक्त राज्य अमेरिका र भारत साझा हितले मात्र होइन, उच्च स्तरको आपसी सम्बन्धले पनि जोडिएका छन्। वास्तविक मित्रहरूबीच असहमति हुन सक्छ, तर अन्ततः आफ्ना मतभेद समाधान गर्न सक्छन्”, उनले भने।

उहाँले चलिरहेको व्यापार वार्ताप्रति आशावाद व्यक्त गर्दै दुवै देश सम्झौतामा पुग्न दृढ रहेको बताए।-रासस/एएफपी

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...