
काठमाडौं ।
यूरोपेली आयोगले एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई त्यसमा समावेश गरिएको कृत्रिम बुद्धिमत्ता च्याटबोट ‘ग्रोक’सँग सम्बन्धित सबै आन्तरिक कागजात र डाटा सन् २०२६ को अन्त्यसम्म सुरक्षित राख्न आदेश दिएको आयोगका एक प्रवक्ताले बिहीबार बताएका छन्।
युरोपेली आयोगले सोमबार एक्समा नग्न महिलाहरू र बालबालिकाका तस्बिरहरू व्यापक रूपमा साझा भइरहेको भन्दै त्यसलाई गैरकानुनी र निन्दनीय भनेको थियो। प्लेटफर्ममा सहमतिविनाका तस्बिरहरू बढ्दै गएको विषयमा विश्वभरका अधिकारीहरूले आलोचना गरिरहेका बेला आयोगको यो प्रतिक्रिया आएको हो।
रोयटर्सका अनुसार आयोगले गत वर्ष एक्सलाई पठाइएको कागजात संरक्षणसम्बन्धी आदेशलाई अब विस्तार गर्ने निर्णय गरेको हो। उक्त आदेश एल्गोरिदम र गैरकानुनी सामग्रीको प्रसारसँग सम्बन्धित रहेको आयोगका प्रवक्ता थोमस रेग्नियरले बिहीबार पत्रकारहरूलाई बताएका छन्।
“यसको अर्थ प्लेटफर्मलाई भनिएको हो—आन्तरिक कागजातहरू सुरक्षित राख्नुस्, नहटाउनुस्, किनकि हामीलाई नियमको पालना भएको छ कि छैन भन्नेमा शंका छ, र आवश्यक परेमा ती कागजातहरू माग गर्न सक्ने अवस्था चाहिन्छ,” रेग्नियरले भने।
उनका अनुसार यो कदमले युरोपेली संघको डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत आयोगले कुनै नयाँ औपचारिक अनुसन्धान सुरु गरेको भन्ने अर्थ भने लाग्दैन।
प्रकाशित: २५ पुष २०८२, शुक्रबार