
काठमाडौं ।
चीनले नयाँ उत्पादन क्षमता थप्ने चिप उत्पादकहरूलाई कम्तीमा ५० प्रतिशत उपकरण स्वदेशमै निर्मित हुनुपर्ने व्यवस्था लागू गरेको छ। यसबारे जानकारी भएका तीन स्रोतले बताएका छन्। बेइजिङले आत्मनिर्भर सेमिकन्डक्टर आपूर्ति शृंखला निर्माणलाई तीव्र बनाउने प्रयासका रूपमा यो कदम चालेको हो।
यो नियम सार्वजनिक रूपमा दस्तावेजमा राखिएको छैन। तर पछिल्ला महिनाहरूमा कारखाना निर्माण वा विस्तारका लागि राज्य स्वीकृति माग्ने चिप उत्पादकहरूलाई खरिद प्रक्रिया मार्फत कम्तीमा आधा उपकरण चिनियाँ उत्पादन भएको प्रमाण पेश गर्न सम्बन्धित निकायले निर्देशन दिएको ती स्रोतले रोयटर्सलाई बताएका छन्।
यो व्यवस्था चीनले विदेशी प्रविधिमाथिको निर्भरता घटाउन ल्याएका सबैभन्दा महत्वपूर्ण कदमहरूमध्ये एक मानिएको छ। सन् २०२३ मा अमेरिकाले उन्नत एआई चिप र सेमिकन्डक्टर उपकरणको चीनमा बिक्री प्रतिबन्ध लगाएपछि आत्मनिर्भरताको अभियानले तीव्रता पाएको थियो।
अमेरिकी प्रतिबन्धले अत्याधुनिक उपकरणहरूको बिक्री रोकेको भए पनि, ५० प्रतिशत नियमका कारण अहिले चिनियाँ उत्पादकहरूले अमेरिका, जापान, दक्षिण कोरिया र युरोपका उपकरण उपलब्ध हुँदाहुँदै पनि स्वदेशी आपूर्तिकर्ता रोज्न थालेका छन्।
५० प्रतिशतको मापदण्ड पूरा नभए आवेदन प्रायः अस्वीकृत हुने गरेको छ। तर आपूर्ति सीमित भएका अवस्थामा केही लचकता अपनाइने स्रोतहरूले बताएका छन्।
अत्याधुनिक चिप उत्पादन लाइनहरूमा भने स्वदेशी उपकरण पूर्ण रूपमा उपलब्ध नभएकाले यो नियम केही खुकुलो बनाइएको छ। “अधिकारीहरू ५० प्रतिशतभन्दा धेरै स्वदेशी उपकरण प्रयोग भएको हेर्न चाहन्छन्,” एक स्रोतले भने। “अन्ततः उनीहरूको लक्ष्य १०० प्रतिशत स्वदेशी उपकरण प्रयोग गराउनु हो।”
चीनको उद्योग मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिएको छैन। यो नीति सार्वजनिक नभएकाले स्रोतहरूले आफ्नो नाम गोप्य राख्न चाहेका छन्।
‘सम्पूर्ण राष्ट्र’ दृष्टिकोण
चीनका राष्ट्रपति सी जिनपिङले हजारौँ इन्जिनियर, वैज्ञानिक, कम्पनी र अनुसन्धान संस्थाहरूको सहभागितामा ‘सम्पूर्ण राष्ट्र’को प्रयासमार्फत आत्मनिर्भर सेमिकन्डक्टर आपूर्ति शृंखला निर्माण गर्न आग्रह गर्दै आएका छन्।
आपूर्ति शृंखलाका विभिन्न तहमा यो प्रयास भइरहेको छ। “पहिले एसएमआईसीजस्ता घरेलु फ्याबहरूले अमेरिकी उपकरणलाई प्राथमिकता दिन्थे र चिनियाँ कम्पनीलाई अवसर दिन चाहँदैनथे,” स्थानीय उपकरण निर्माता नौरा टेक्नोलोजीका एक पूर्व कर्मचारीले भने। “तर २०२३ को अमेरिकी निर्यात प्रतिबन्धपछि चिनियाँ फ्याबहरूसँग स्वदेशी आपूर्तिकर्तासँग काम गर्नुको विकल्प रहेन।”
यस वर्ष राज्य-सम्बद्ध निकायहरूले ४२१ वटा स्वदेशी लिथोग्राफी मेसिन र पार्टपुर्जाको अर्डर दिएका छन्, जसको मूल्य करिब ८५० मिलियन युआन रहेको सार्वजनिक खरिद तथ्याङ्कले देखाउँछ। यसले स्थानीय प्रविधिको माग तीव्र रूपमा बढेको संकेत गर्छ।
स्थानीय चिप उद्योगलाई सहयोग गर्न बेइजिङले ‘बिग फन्ड’ मार्फत सयौँ अर्ब युआन लगानी गरेको छ। सन् २०२४ मा यसको तेस्रो चरण स्थापना गरिएको थियो, जसको पूँजी ३४४ अर्ब युआन (४९ अर्ब अमेरिकी डलर) रहेको छ।
विजेता र पराजित
यो नीतिले खासगरी इचिङजस्ता महत्वपूर्ण प्रक्रियामा परिणाम दिन थालेको स्रोतहरूले बताएका छन्। इचिङ भनेको सिलिकन वेफरबाट पदार्थ हटाएर ट्रान्जिस्टरको जटिल संरचना बनाउने प्रक्रिया हो।
चीनको सबैभन्दा ठूलो चिप उपकरण निर्माता नौराले एसएमआईसीको ७ न्यानोमिटर उत्पादन लाइनमा आफ्ना इचिङ उपकरण परीक्षण गरिरहेको दुई स्रोतले बताएका छन्।
यसअघि १४ न्यानोमिटरमा सफल प्रयोगपछि आएको यो उपलब्धिले स्वदेशी आपूर्तिकर्ताहरू कति छिटो अघि बढिरहेका छन् भन्ने देखाउँछ। “सरकारले फ्याबहरूलाई कम्तीमा ५० प्रतिशत स्वदेशी उपकरण प्रयोग गर्न बाध्य बनाएपछि नौरा निकै छिटो सुधार गर्न बाध्य भएको छ,” एक स्रोतले बतायो।
यसअघि चीनमा उन्नत इचिङ उपकरणहरू ल्याम रिसर्च र टोक्यो इलेक्ट्रोनजस्ता विदेशी कम्पनीहरूले आपूर्ति गर्दै आएका थिए। तर अहिले ती उपकरणहरू क्रमशः नौरा र एएमईसी जस्ता चिनियाँ कम्पनीहरूले प्रतिस्थापन गरिरहेका छन्।
नौराले ३०० भन्दा बढी लेयर भएका उन्नत मेमोरी चिपका लागि इचिङ उपकरण आपूर्ति गरेको छ। साथै २०२३ को प्रतिबन्धपछि ल्याम रिसर्चले सेवा दिन नसकेका उपकरणहरूका लागि आवश्यक इलेक्ट्रोस्ट्याटिक चक समेत नौराले विकास गरेको स्रोतहरूले बताएका छन्। सम्बन्धित कम्पनीहरूले प्रतिक्रिया दिएका छैनन्।
चीनको प्रगतिलाई विश्वव्यापी प्रतिस्पर्धीहरूले चिन्ताका साथ हेरिरहेका छन्, किनभने विदेशी आपूर्तिकर्ताहरू चिनियाँ बजारबाट बाहिरिन थालेका छन्। नौराले सन् २०२५ मा ७७९ वटा पेटेन्ट दर्ता गरेको छ, जुन २०२० र २०२१ को तुलनामा दोब्बरभन्दा बढी हो। एएमईसीले २५९ वटा पेटेन्ट दर्ता गरेको एनाक्वाको एक्लेमआईपी डाटाबेसले देखाएको छ।
यसको असर वित्तीय नतिजामा पनि देखिएको छ। नौराको सन् २०२५ को पहिलो छ महिनाको आम्दानी ३० प्रतिशतले बढेर १६ अर्ब युआन पुगेको छ। एएमईसीको आम्दानी ४४ प्रतिशतले बढेर ५ अर्ब युआन पुगेको छ।
विश्लेषकहरूका अनुसार फोटोरेजिस्ट हटाउने र सफाइ उपकरणमा चीनले करिब ५० प्रतिशत आत्मनिर्भरता हासिल गरिसकेको छ, जुन क्षेत्र पहिले जापानी कम्पनीहरूको वर्चस्वमा थियो। “घरेलु उपकरण बजार दुई–तीन ठूला उत्पादकको नियन्त्रणमा जानेछ, र नौरामध्ये एक प्रमुख हुनेछ,” एक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
प्रकाशित: १६ पुष २०८२, बुधबार