बिजुली बन्द हुँदा सडकमै अड्किएको घटनापछि वेमोले सुरु गर्यो सफ्टवेयर अपडेट

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
बिजुली बन्द हुँदा सडकमै अड्किएको घटनापछि वेमोले सुरु गर्यो सफ्टवेयर अपडेट
फाइल तस्बिर

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको स्वचालित सवारी सेवा कम्पनी वेमोले शनिबार सान फ्रान्सिस्कोमा व्यापक विद्युत् अवरोधका कारण आफ्ना रोबोट्याक्सीहरू अवरुद्ध भएपछि प्रयोगमा रहेको सफ्टवेयर अपडेट गर्ने र आपतकालीन प्रतिक्रिया प्रक्रिया सुधार गर्ने घोषणा गरेको छ।

पीजीएण्डईको एउटा सबस्टेसनमा आगलागी भएपछि शनिबार साँझ सान फ्रान्सिस्कोको करिब एक–तिहाइ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। यस घटनाले झन्डै १ लाख ३० हजार बासिन्दालाई प्रभावित गर्‍यो भने केही व्यवसायहरू अस्थायी रूपमा बन्द गर्न बाध्य भए। सोही कारण वेमोले शनिबार साँझ आफ्ना सेवाहरू अस्थायी रूपमा रोकेको थियो।

विद्युत् अवरुद्ध हुँदा ट्राफिक लाइटहरू नचल्दा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा वेमोका रोबोट्याक्सीहरू चौराहामा अड्किएको र हाजार्ड लाइट बालेर बसेको देखिन्छ।

वेमोका अनुसार उसका स्वचालित सवारी साधनहरू चारतर्फी चोकमा ट्राफिक लाइट नबलेको अवस्थामा पनि सञ्चालन गर्न सक्षम छन् तर केही अवस्थामा प्रणालीले अतिरिक्त पुष्टि माग्न सक्छ।

“शनिबार हामीले ७ हजारभन्दा बढी बन्द ट्राफिक सिग्नलहरू सफलतापूर्वक पार गर्‍यौं,” वेमोले भनेको छ, “तर विद्युत् अवरोधका कारण यस्ता पुष्टि अनुरोधहरू एकैपटक अत्यधिक बढे, जसले प्रतिक्रिया प्रक्रियामा ढिलाइ गरायो र पहिल्यै चापमा परेका सडकहरूमा थप जामको अवस्था सिर्जना भयो।”

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...