ह्याकरहरुले सन् २०२५ मा २.७ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरे: रिपोर्ट

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
ह्याकरहरुले सन् २०२५ मा २.७ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरे: रिपोर्ट

काठमाडौं ।

ब्लकचेन निगरानी गर्ने संस्थाहरूका अनुसार सन् २०२५ मा साइबर अपराधीहरूले २.७ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् जुन क्रिप्टो चोरीसम्बन्धी ह्याकिङको इतिहासमै सबैभन्दा ठूलो रकम हो।

सन् २०२५ भरि फेरि पनि दर्जनौँ क्रिप्टो डकैतीका घटना विभिन्न क्रिप्टोकरेन्सी एक्सचेन्ज तथा वेब३ र विकेन्द्रित वित्त परियोजनाहरूमा भएका छन्। सबैभन्दा ठूलो घटना दुबईस्थित क्रिप्टो एक्सचेन्ज बाइबिटमा भएको ह्याक हो जहाँ करिब १.४ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति चोरी भएको थियो।

टेकक्रञ्चका अनुसार ब्लकचेन विश्लेषण कम्पनीहरू तथा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त ठूलो चोरीको जिम्मेवारी उत्तर कोरियाली सरकारसँग सम्बन्धित ह्याकरहरूमाथि लगाएका छन्।

पछिल्ला केही वर्षयता क्रिप्टो क्षेत्रलाई सबैभन्दा बढी निशाना बनाउने समूह यही रहेको बताइएको छ। बाइबिटमा भएको चोरी हालसम्मकै सबैभन्दा ठूलो ज्ञात क्रिप्टो लुट मात्र नभई मानव इतिहासकै सबैभन्दा ठूला वित्तीय डकैतीहरूमध्ये एक मानिएको छ।

यसअघि सन् २०२२ मा रोनिन नेटवर्क र पोली नेटवर्कमाथि भएका ह्याकहरूमा क्रमशः ६२४ मिलियन र ६११ मिलियन डलर चोरी भएका थिए जुन त्यसबेलासम्मका सबैभन्दा ठूला घटना थिए।

क्रिप्टोकरेन्सी निगरानी गर्ने संस्थाहरू चेनालिसिस र टीआरएम ल्याब्सले तथ्यांकका आधारमा सन् २०२५ मा कुल २.७ अर्ब डलर बराबरको क्रिप्टो चोरी भएको अनुमान गरेका छन्। चेनालिसिसका अनुसार व्यक्तिगत क्रिप्टो वालेटहरूबाट थप ७ लाख डलर बराबरको रकम पनि चोरी भएको छ।

क्रिप्टो चोरीका घटनाहरू ट्र्याक गर्ने वेब३ सुरक्षा कम्पनी डेफीले सञ्चालन गर्ने आरईकेटी डेटाबेसले पनि गत वर्ष २.७ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति चोरी वा ह्याक भएको अनुमान गरेको छ। चेनालिसिस र एलिप्टिकका अनुसार सन् २०२५ मा पनि उत्तर कोरियाली सरकारी ह्याकरहरू नै सबैभन्दा सफल क्रिप्टो चोर बनेका छन्।

उनीहरूले कम्तीमा २ अर्ब डलर बराबरको क्रिप्टो चोरी गरेको अनुमान छ। एलिप्टिकका अनुसार सन् २०१७ यता किम जोङ उनका ह्याकरहरूले करिब ६ अर्ब डलर बराबरको क्रिप्टो चोरी गरिसकेका छन्। उत्तर कोरियाले यस्ता चोरीमार्फत प्रतिबन्धित आफ्नो परमाणु हतियार कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आएको बताइन्छ।

यस वर्ष भएका अन्य ठूला क्रिप्टो ह्याकहरूमा २२३ मिलियन डलर चोरी भएको विकेन्द्रित एक्सचेन्ज सेटसमाथिको आक्रमण, १२८ मिलियन डलर घाटा भएको इथेरियम ब्लकचेनमा आधारित प्रोटोकल ब्यालेन्सरमाथिको ह्याक तथा ७३ मिलियन डलरभन्दा बढी चोरी भएको क्रिप्टो एक्सचेन्ज फेमेक्स माथिको आक्रमण उल्लेखनीय छन्।

क्रिप्टो एक्सचेन्ज र विकेन्द्रीकृत वित्त परियोजनालाई लक्षित गर्ने साइबर अपराधीहरूको गतिविधि भने कम भएको देखिँदैन। सन् २०२४ मा २.२ अर्ब डलर र त्यसअघिल्लो वर्ष २०२३ मा २ अर्ब डलर बराबरको क्रिप्टो चोरी भएको थियो।

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार