Technology Khabar २९ मंसिर २०८२, सोमबार
काठमाडौं ।
सेवाग्राहीको विवरण हेरफेर गरेको कसूरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबारमा कार्यरत दुई कर्मचारीलाई प्रहरीले पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा सोही विभागमा विवरण दर्ता अपरेटरको रुपमा कार्यरत सुनसरी, छिटाहा गाविस-५ घर भई हाल ललितपुर जिल्ला, महालक्ष्मी नपा-३ बस्ने २८ वर्षीय सुनित प्रभाग रेग्मी तथा गोरखा जिल्लाको गोरखा नपा-१० घर भई हाल ललितपुर महानगरपालिक-१३ बस्ने वर्ष २८ को आशिष बाबु कुमाल रहेको रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।
सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार पक्राऊ परेका रेग्मी र कुमाल दुवै दर्ता अपरेटरको यूजर आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र अप्रुभ गरी “ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ” को परिच्छेद ६ दफा ४१ बमोजिमको कसूर गर्ने कार्यमा संलग्न रहेको पाइएको हो।
रेग्मीलाई ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिक-३ इमाडोलबाट र कुमाललाई ललितपुर महानगरपालिका-१३ बाट गत मंसीर २७ गते पक्राऊ गरी काठमाडौं जिल्ला अदालतबाट सोही दिन गतेबाट लागू हुने गरी पहिलो पटक ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रकाशित: २९ मंसिर २०८२, सोमबार