Technology Khabar २४ मंसिर २०८२, बुधबार
काठमाडौं ।
बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन्। गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरेका प्रयोगशाला गत साउनयता जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन्।
हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापित प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ति गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ। चार वर्षदेखि सञ्चालमा आएका तीन प्रयोशालाका लागि आवश्यक उपकरण भए पनि जनशक्ति नहुँदा नागरिकले सेवा लिन पाएका छैनन्।
स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना हुँदा रगत, दिसा, पिसाबलगायत परीक्षणमा सहजता हुनुका साथै शीघ्र रोगको पहिचान र निदानमा सहयोग पुग्ने गरेको ताराखोला–३ हिल स्वास्थ्यचौकीका अनमी कोपिला विकले बताए। अहिले प्रयोगशाला सञ्चालनमा नआउँदा सेवा प्रभावित बनेको उनको भनाइ छ।
उनले जनशक्ति अभावमा प्रयोगशाला र भिडियो एक्सरे सेवा दिन नसक्दा बिरामीलाई गलकोट नगर अस्पताल तथा अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए। आकस्मिक सेवाका लागि प्रयोगशालाबाट परीक्षण गर्नुपरेमा ताराखोला स्वास्थ्यचौकीबाट ल्याब असिस्टेन्ट बोलाएर गर्ने गरिएको विकले जानकारी दिए।
उनका अनुसार तालिम प्राप्त जनशक्ति सरुवा भएपछि गर्भवतीका लागि गरिने भिडियो एक्सरे सेवासमेत हिल स्वास्थ्यचौकीले प्रदान गर्न सकेको छैन।
यस स्वास्थ्यचौकीबाट गत वर्ष ७०० बिरामीले सेवा लिएका थिए भने ११ जना संस्थागत सुत्केरी भएका थिए। चालु आर्थिक वर्षमा पाँच जनाले संस्थागत सुत्केरी सेवा लिइसकेका अनमी विकले जानकारी दिए।
“गाउँपालिकाले ल्याब असिस्टेन्ट पठाउन नसक्दा प्रयोगशालाबाट प्रवाह हुँदै आएका सेवा ठप्प भएका छन्। सोही कारणले यहाँ आउने बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता छ”, उनले भने, “यहाँबाट हामीले अन्य सेवा प्रभावकारी रूपमा दिए पनि रोग पहिचानका लागि प्रयोगशाला आवश्यक पर्दछ। प्राविधिक जनशक्ति नहुँदा समस्या भएको छ, गाउँपालिकालाई प्रयोगशाला सहायक कर्मचारी पठाउन आग्रह गरेका छौँ।”
हिलसँगै अर्गल र अमरभूमि स्वास्थ्यचौकीका प्रयोगशाला पनि कर्मचारी अभावमा सञ्चालनमा आउन सकेका छैनन्। वडा नं ५ ताराखोला स्वास्थ्यचौकीमा मात्रै प्रयोगशाला सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले साउनयता प्राविधिक जनशक्ति नियुक्ति गर्न नसक्दा गाउँपालिकामा रहेका चारमध्ये तीन वटा प्रयोगशाला ठप्प भएका छन्।
गाउँपालिकाले स्वास्थ्यचौकीबाट अतिरिक्त स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरे पनि महालेखा परीक्षकको कार्यालयले स्रोत तथा सङ्गठन व्यवस्थापनको मूल्याङ्कन नगरी प्रयोगशाला सहायक कर्मचारी राखेको भन्दै करारमा कर्मचारी नराख्न भनेपछि समस्या भएको स्वास्थ्य शाखा प्रमुख थापाले उल्लेख गरे।
गाउँपालिकालाई कानुन निर्माण गरी स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि स्रोत तथा व्यवस्थापन मल्याङ्कन गरेर मात्रै प्रयोगशाला सञ्चालनमा ल्याउन सुझाव आएपछि कर्मचारी नियुक्ति गर्न नसकिएको उनको भनाइ छ।
गाउँपालिकाभित्र एउटा मात्र प्रयोगशाला सञ्चालनमा आउँदा दुर्गमका नागरिकलाई सास्ती भएको उनले बताए। उनले जिल्लाका अन्य स्थानीय तहमा पालिकास्तरीय आधारभूत अस्पताल भए पनि ताराखोलामा आधारभूत अस्पताल नभएको जनाउँदै स्वास्थ्यचौकीले समेत विस्तार गरेको सेवालाई निरन्तरता दिन नसकेको स्विकार गरे।-रासस
प्रकाशित: २४ मंसिर २०८२, बुधबार