Technology Khabar २४ मंसिर २०८२, बुधबार
काठमाडौं ।
सूर्यले डिसेम्बर ८ सोमबारका दिन शक्तिशाली एक्स१.१-श्रेणीको सोलार फ्लेयर अर्थात् सौर्य ज्वाला उत्पन्न गर्यो जसले केही समयका लागि अष्ट्रेलिया र दक्षिणपूर्वी एसियाका केही भागमा रेडियो सञ्चार अवरुद्ध गर्यो।
यो आकस्मिक विस्फोट राति १२:०१ बजे ईएसटी (०५:०१ जीएमटी) मा चरममा पुगेको थियो र सूर्यका पश्चिमी किनारतर्फ गइरहेको एआर४२९८ सूर्यकलङ्क क्षेत्रबाट उत्पन्न भएको थियो।
यो क्षेत्र केही दिनमै सूर्यको दृस्य क्षेत्रमा बाहिर निस्कनेछ। प्लाज्मा र चुम्बकीय क्षेत्रको ठूलो समूहका रुपमा रहेको एउटा कोरोनल मास इजेक्शन (सीएमई) पनि यसैसँग अन्तरिक्षतर्फ फालिएको थियो।
तर उपग्रहका प्रारम्भिक अवलोकनहरूका आधारमा यो सीएमई पृथ्वीतिर लक्षित भएको नदेखिएको स्पेस डटकमले उल्लेख गरेको छ। यो सौर्य ज्वाला सूर्यमा पहिल्यै सक्रिय रहेको हप्ताका बीचमा भएको हो।
यसअघि भएका सौर्य ज्वालाका कारण उत्पन्न भएका केही सीएमईहरू डिसेम्बर ८–९ बीच पृथ्वीमा पुग्ने अनुमान गरिएको र यसका कारण नेशनल ओसनिक एण्ड एटमस्फियरिक एडमिनिस्ट्रेशन एनओएएको अन्तरिक्ष मौसम पूर्वानुमान केन्द्र र बेलायतको मेट अफिसले भूचुम्बकीय आँधीबारे चेतावनी जारी गरेका छन्।
यसमा जी२–जी३ स्तरका मध्यमदेखि शक्तिशाली आँधीको सम्भावना राखिएको छ जसका कारण उच्च तथा मध्य अक्षांशका क्षेत्रमा उत्तरी प्रकाश देखिन सक्ने बताइएको छ।
सोलार फ्लेयर अर्थात् सौर्य ज्वाला के हुन्?
सूर्यको वायुमण्डलमा चुम्बकीय ऊर्जाको थुप्रो जम्मा भएर अचानक विद्युतचुम्बकीय विकिरणको तीव्र विस्फोट भएपछि सोलार फ्लेयर उत्पन्न हुन्छन्।
तिनलाई शक्ति वा सामर्थ्य अनुसार विभिन्न वर्गमा राखिन्छ:
• एक्स- श्रेणी: सबैभन्दा शक्तिशाली
• एम-श्रेणी: एक्स- श्रेणीभन्दा १० गुणा कमजोर
• सी, बी र ए-श्रेणी: क्रमशः कमजोर, जसमा ए-क्लासका फ्लेयरले पृथ्वीमा खासै प्रभाव पार्दैनन्।
हरेक वर्गमा रहेको संख्याले तीव्रताको स्तर जनाउँछ। डिसेम्बर ८ को फ्लेयर एक्स१.१ शक्तिमा दर्ता भएको थियो।
यसले रेडियो सेवा कसरी बन्द गराउँछ?
सोलार फ्लेयरबाट निस्केको विकिरण पृथ्वीमा पुगेपछि माथिल्लो वायुमण्डललाई आयोनमय बनाउँछ जसले सूर्यको प्रकाश परेको भागमा रहेको शर्ट वेभरेडियो सञ्चारलाई अवरुद्ध गर्न सक्छ।
सामान्यतया उच्च फ्रिक्वेन्सीका रेडियो तरङ्गहरू आयनोस्फियरका माथिल्लो पातला तहबाट परावर्तित भएर टाढासम्म पुग्छन्। तर शक्तिशाली फ्लेयरका बेला आयनोस्फियरका तल्ला, बाक्ला तहहरू अत्यधिक आयोनाइज अर्थात् आयोनमय हुन्छन्। ती तह हुँदै जाने रेडियो तरङ्गहरू कणसँग धेरै पटक ठोक्किँदा ऊर्जा गुमाउँछन्। यसका कारण एनओएएका अनुसार उच्च फ्रिक्वेन्सीका रेडियो सिग्नल फिक्का हुन्छन्, बिग्रिन्छन् वा पूर्णतया हराउँछन्।
प्रकाशित: २४ मंसिर २०८२, बुधबार