Technology Khabar २४ मंसिर २०८२, बुधबार
काठमाडौं ।
दुई चिनियाँ नागरिकलाई एनभिडियाका उन्नत एआई चिप चीनतर्फ तस्करी गरेको आरोपमा नियन्त्रणमा लिइएको अमेरिकी न्याय विभागले सोमबार जानकारी दिएको छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियालाई एच२०० चिप्स बेइजिङ निर्यात गर्न अनुमति दिएका छन्।
अभियोजनकर्ताहरूका अनुसार न्युयोर्कमा बस्दै आएका ४३ वर्षीय चिनियाँ नागरिक फान्यूए गोंग र चीनबाट आएका क्यानडाली नागरिक ५८ वर्षीय बेन्लिन युवानले हङकङमा आधारित एउटा लजिस्टिक्स कम्पनी र चीनमा आधारित एआई प्रविधि कम्पनीका कर्मचारीसँग मिलेर अमेरिकी निर्यात नियन्त्रण उल्लंघन गर्ने षड्यन्त्र रचेका थिए।
अदालतका कागजातअनुसार गोंग र उनका सहयोगीहरूले स्ट्रो खरीददार र बिचौलियामार्फत एनभिडिया चिपहरू प्राप्त गरेका थिए र ती सामान अमेरिकी ग्राहक वा ताइवान तथा थाइल्यान्ड जस्ता तेस्रो देशका ग्राहकका लागि भएको झूटो दावी गरेका थिए।
चिपहरू अमेरिकाका विभिन्न गोदाममा पठाइन्थे जहाँ व्यक्तिहरूले एनभिडियाका लेबल हटाएर अभियोजनकर्ताहरूले नक्कली कम्पनी मानेको नाम भएका लेबल टाँस्ने काम गर्थे। त्यसपछि ती चिप निर्यातका लागि तयारी गरिन्थ्यो।
अर्को अभियोगमा युवानले हङकङको उक्त लजिस्टिक्स कम्पनीको तर्फबाट गलत लेबल लागेका चिप जाँच्ने व्यक्तिहरू भर्ना र व्यवस्थापन गरेको उल्लेख छ।
युवानले निरीक्षकहरूलाई सामान चीनका लागि हो भनेर नबोल्न निर्देशन दिएको र संघीय अधिकारीले जफत गरेपछि चिप तथा अन्य उपकरण फिर्ता ल्याउन कम्पनीले प्रयोग गर्नसक्ने कथा बनाउन छलफल चलाएको पनि अभियोजनकर्ताहरूले बताएका छन्।
न्याय विभागका अनुसार यो योजना कम्तीमा नोभेम्बर २०२३ देखि चलिरहेको अनुमान छ। युवानका वकिलले टिप्पणी गर्न अस्वीकार गरे, जबकि गोंगका प्रतिनिधि पत्ता लगाउन सकिएनन्।
वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले “चिनियाँ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्थानीय कानून कडाइका साथ पालना गर्न आग्रह गर्छ, साथै उनीहरूको वैध अधिकार र हितहरूको कानुनी संरक्षण गर्छ,” भने।
अर्का व्यक्ति एलन हाओ ह्सु, ४३, र उनको कम्पनीले उक्त योजनामा संलग्न भई तस्करी र अवैध निर्यात गतिविधिमा अक्टोबरमा दोषी ठहरिएको न्याय विभागले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८२, बुधबार