शहरी विकासका कारण २०५० सम्ममा लाखौं मानिसहरू सफा पानीबाट वञ्चित हुने अध्ययनको चेतावनी

Technology Khabar २३ मंसिर २०८२, मंगलवार

शहरी विकासका कारण २०५० सम्ममा लाखौं मानिसहरू सफा पानीबाट वञ्चित हुने अध्ययनको चेतावनी
फोटो सौजन्यः एनडीटीभी/पक्सिेल्स

काठमाडौं ।

एक नयाँ अध्ययनले शहरी विकासका कारण आगामी दशकहरूमा लाखौं मानिसहरू सफा पानीको पहुँचबाट वञ्चित हुने चेतावनी दिएको छ। नयाँ भवनहरू र छिमेकहरू कहाँ र कसरी निर्माण गर्ने भन्ने बारे निर्णयहरूले करोडौं शहरवासीहरूको दैनिक जीवन र स्वास्थ्यलाई असर गर्न सक्छ भन्ने विज्ञहरूको भनाइ रहेको न्यूजवीकले रिपोर्ट गरेको छ।

भियनाको कम्प्लेक्सिटी साइन्स हब (सीएसएच) र विश्व बैंकका अनुसन्धानकर्ताहरूले अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका १०० भन्दा बढी शहरहरूको अध्ययन गरेको रिपोर्ट गरिएको छ। शहरी विस्तारले पानी र सरसफाइ सेवाहरूलाई कसरी असर गर्न सक्छ भनेर बुझ्न सकियोस् भन्ने उद्देश्यको लागि १८ करोड ३० लाख भवनहरू र १२५,००० घरपरिवारमा सर्वेक्षण डाटा विश्लेषण गरिएको बताइएको छ।

अनुसन्धानकर्ताहरूले २०५० सम्ममा शहरी विकासको लागि तीन सम्भावित मोडेलहरू विकास गरेः

कम्प्याक्टः अवस्थित क्षेत्रहरू भित्र बढी घनत्वको साथ विस्तार गर्दै।
पर्सिस्टेण्टः अवस्थित निर्माण र विस्तार ढाँचाहरू कायम राख्दै।
होराइजोन्टलः नयाँ क्षेत्रहरूमा शहरहरू विस्तार गर्दै।

यदि शहरहरू होराइजोन्टल (तेर्सो) रूपमा विस्तार भएमा, २२ करोड मानिसहरूले सफा पाइपयुक्त पानीको पहुँच गुमाउनेछन् र १९ करोड मानिसहरूले ढल निकास सेवाहरूको पहुँच गुमाउनेछन्। होराइजोन्टल (तेर्सो) को तुलनामा, कम्प्याक्ट विकासले भने स्थितिमा उल्लेखनीय सुधार ल्याउने बताइएको छ। साथै फराकिलो शहरहरूमा पानी सेवाहरू महँगो हुने गरेको अध्ययनले पत्ता थप लगाएको उल्लेख गरिएको छ।

फराकिलो शहरहरूमा पानीको बिल कम्प्याक्ट शहरहरूको तुलनामा लगभग ७५ प्रतिशत बढी हुने रिपोर्ट गरिएको छ। त्यसबाहेक, शहरको बाहिरी इलाकामा बस्ने मानिसहरूको केन्द्र नजिकै बस्नेहरूको तुलनामा आवश्यक आधारभूत सेवाहरूमा ४० प्रतिशत कम पहुँच भएको उल्लेख गरिएको छ।

सीएसएचका प्रमुख अनुसन्धानकर्ता राफेल प्रिएटो–क्युरियलले उचित शहर डिजाइनले पानीको अभाव कम गर्नको लागि मद्दत गर्न सक्ने बताएका छन्। राम्रो योजना र नीतिले अतिरिक्त खर्च वा नयाँ पूर्वाधारको निर्माण बिना पानी र सरसफाइ सेवाहरूमा पहुँच बढाउन सक्ने उनले थप जानकारी दिएका छन्। सही घनत्व भएका कम्प्याक्ट र हिँड्न मिल्ने छिमेकहरूले सबैका लागि आधारभूत सेवाहरू सुनिश्चित गर्न सक्ने र वातावरणीय रूपमा पनि दिगो हुने उल्लेख गरिएको छ।

अध्ययनले २०५० सम्ममा अफ्रिका र एसियाका शहरहरूको जनसंख्या द्रुत गतिमा वृद्धि हुने खुलासा पनि गरेको छ। अफ्रिकामा, शहरी जनसंख्या तीन गुणा बढ्न सक्ने बताइएको छ भने एशियामा, लगभग आधाले जनसंख्या वृद्धि हुन सक्ने उल्लेख गरिएको छ। अफ्रिकी शहरहरू पहिले नै एसियाली शहरहरू भन्दा बढी फराकिलो रहेका छन् र शहरको केन्द्र नजिकै बसोबास गर्ने मानिसहरूको संख्या केवल १२ प्रतिशत मात्र भएको र एशियामा भने उक्त दर २३ प्रतिशत रहेको एनडीटीभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार