एनसेललाई सञ्चारमन्त्री खरेलको सुझाव- जिम्मेबार बनेर व्यवसाय गर्नुस्, क्लिन बिजनेस र क्लिन सेवा दिनेमा सरकारले सहयोग गर्छ

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
एनसेललाई सञ्चारमन्त्री खरेलको सुझाव- जिम्मेबार बनेर व्यवसाय गर्नुस्, क्लिन बिजनेस र क्लिन सेवा दिनेमा सरकारले सहयोग गर्छ

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज एनसेलको कार्यालय भ्रमण गरेका छन्। गत भदौ महिनामा जेनजी आन्दोलनमा संरचनाहरू ध्वस्त हुने क्रममा लैनचौर स्थित एनसेल कार्यालयमा पनि ठूलो क्षति पुगेको उल्लेख गर्दै मन्त्रीले नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टर र कार्यालयको अवलोकन भ्रमण गरेका छन्।

उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए।

अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेन जी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए। उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको एनसेलले जानकारी दिएको थियो।

बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुझाव र युवाहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताअनुसार, विद्यार्थीहरूको सञ्चार सेवासम्बन्धी आवश्यकताहरू पूरा गर्न हामी छिट्टै जेन जी प्याक सुरु गर्दैछौं।”

फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए। सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै, उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको भ्रमण गर्ने क्रममा नेपाल टेलिकममा पनि विद्यार्थीहरुको लागि कही योजनाहरु चाहियो भन्दा नेपाल टेलिकममा स्टुडेण्ट प्याकेज सुरू गरेको उनले बताए।

धेरै पर्यटकहरू जाने गरेको एभरेस्ट बेस क्याम्प एरियामा धेरै गुनासाहरू आएको र त्यस बाहेक दुर्गम ठाउहरुमा पनि सञ्चारको पहुँच अझै पनि कमजोर भइरहेको अवस्थामा सगरमाथा बेस क्याम्मको लागि थप पाँचओटा पोइन्टमा काम गर्ने र गोरक्षसम्मको सबै रेञ्जमा अब फोरजीको पहुँच पुर्याउने जानकारी दिँदै त्यसका लागि आवस्यक प्रक्रियाहरूसँगै अगाडि बढ्ने भन्दै मन्त्री खरेलले एनसेललाई पनि उक्त क्षेत्रमा सेवा बिस्तार गर्न आग्रह गरे।

उनले आफूलाई एनसेलबाट कहिले पैसा उठाउँछस भनेर दबाब आउने गरेको खुलासा समेत गरे।

मन्त्री खरेलले भने, “मेरो भ्रमणको अर्को उद्देश्य म मन्त्री भएर आएदेखि मलाई एनसेलबाट पैसा कहिले उठाउँछस् भन्ने प्रश्न धेरै आएको हुनाले मैले उहाँहरुलाई तपाईँहरुले यी सबै कभर गरिराख्नु भएको छ, यत्रो सर्भिस दिँदै आउनु भएको छ, आफ्नो हिसाबले कर पनि बुझाउनु भएको छ तर आएका विवाद पनि समाधान गर्नुपर्यो।”

उनले एनसेलले गर्ने व्यवसाय सम्मानित हुनुपर्यो भन्ने सुझाब दिँदै देखिएका विवादास्पद विषयहरुलाई समाधान गर्न भनेको जानकारी दिए।

उनले एनसेललाई तिर्नुपर्ने रकम भए तिर्न भन्दै कम मूल्यमा सेयर जारी गरेर ५–६ अर्बमा पैसा करोबार गरेर, समयमा नतिरेको कुरा समाधान गर्न र  विवाद टुङ्ग्याउन आग्रह पनि गरे।

व्यापार गरिराख्दा आत्मसम्मान धेरै महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणका नजरमा आफूले गरेको व्यापारमा सम्मानित हुनुपर्ने उनको भनाइ थियो।

एउटा मन्त्री वा सरकार आउँदा एनसेलबाट पैसा उठाउनु भन्ने तरिकाले व्यापार गर्दा मज्जा नआउने मन्त्री खरेलले बताए।

उनले सबै विवाद समाधन गर्न आग्रह गर्दै सफा व्यापारका साथ अघि बढ्न सुझाव पनि दिएका छन्। क्लिन बिजनेस, क्लिन सर्भिसको लागि सरकारको तर्फबाट सहयोग हुने उनको प्रतिबद्धता थियो। यसका साथै एनसेलको व्यवसायमा राजनीतिकरण गरिएको आरोप लगाउँदै यसअघिका सरकारहरुले भाग खोजेको जिकिर गरे।

सरकारले नेपाल टेलिकम र एनसेल लगायत सबै सेवा प्रदायकहरुलाई गर्ने व्यवहार एउटै हुने प्रस्ट्याउँदै क्षतिको लागि दुःख समेत व्यक्त गरे।

उनले एनसेलको भविश्य र २५ वर्षपछिको अवधिको बारेमा पनि सहजरुपमा उपभोक्ताले प्रयोग गर्नेगरी नीतिगत उल्झन र समस्याहरु सुधार गर्नुपर्ने बताए। उनले २० अर्बको विषयमा नैतिकरुपमा किस्ता दिए/नदिएको हेर्नुपर्ने उल्लेख गरे।

“…यो अन्तरिम सरकार भएको हुनाले हाम्रो अवधिमा जति हुन्छ त्यति फाउन्डेसन बनाउँछौ, नीतिगत तबरमा-संरचनागत तबरमा बाँकी मिलाएर जान्छौं,” मन्त्री खरेलले भने, “यो सरकार एनसेल प्रति नेगेटिभ छ भन्ने होईन्। यदि एनसेल देश र जनता प्रति पोजिटिभ छ भने हामी पोजिटिभ हुन्छौं, यदि एनसेल देश र जनता प्रति नेगेटिभ छ भने हामी नेगेटिभ हुन्छौं।”

हेर्नुस् एनसेल डाटा सेन्टर र कार्यालय अवलोकनपछि मन्त्री खरेलले राखेको धारणा-

 

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...