Technology Khabar २१ मंसिर २०८२, आईतवार
काठमाडौं ।
अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत डा. वसन्त पन्तले स्नायु विज्ञान अन्तर्गत आधुनिक न्युरो चिकित्सा, आधुनिक विज्ञान तथा नवप्रवर्तन उपचार प्रविधि विकासमा उल्लेखनीय योगदान पुऱ्याएका छन्।
यही योगदानबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले यस वर्षको दुई लाख राशि पुरस्कारको कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार डा. पन्तलाई प्रदान गरेको छ। उनी मात्र नभई प्रतिष्ठानले विज्ञान, प्रविधि क्षेत्रमा प्रशंसनीय काम गरेका २८ जना व्यक्ति तथा संस्थालाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको छ।
प्रतिष्ठानको ४३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको हो। प्रतिष्ठानले २०४२ सालदेखि विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ। यो वर्ष विभिन्न १३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ।
यो वर्षको विज्ञान तथा प्रविधि पुरस्कार प्राडा सुबोध शर्माले प्राप्त गरेका छन्। उनी काठमाडौं विश्वविद्यालयमा कार्यरत थिए। उनले जलीय जीवलाई जैविक सूचकका रूपमा प्रयोग गर्दै हिमालय क्षेत्रका नदी तथा तालको गुणस्तर मूल्याङ्कनमा महत्त्वपूर्ण योगदान पुऱ्याएबापत उक्त पुरस्कार प्रदान गरिएको हो।
यस्तै विज्ञान पुरस्कारबाट डा. रमेशराज पन्त सम्मानित भए। दार्चुलाका पन्त वन तथा वातावरण विभाग त्रिभुवन विश्वविद्यालय कार्यरत छन्। उनले जलस्रोत व्यवस्थापन, हाइड्रो, पर्यावरणीय प्रणालीमा महत्त्वपूर्ण योगदान पुऱ्याएको भन्दै सम्मान गरिएको हो।
सूचना प्रविधिमा महत्त्वपूर्ण योगदान पुर्याएबापत काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्राडा सुधन झाले प्रविधि पुरस्कार पाएका छन्। प्रत्येक वर्ष विज्ञान तथा प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत ४० वर्ष ननाघेका युवालाई प्रदान गरिने विज्ञान तथा युवा पुरस्कार यो वर्ष डा. सुषमा पाण्डेलाई प्रदान गरियो।
उनी अन्नपूर्ण अनुसन्धान केन्द्र काठमाडौँमा कार्यरत छिन्। यस्तै गहुँबालीमा सुक्खा र उच्च ताप सहन सक्ने नयाँ जातको विकासमा योगदान दिएबापत डा. मुक्तिराम पौडेललाई पुरस्कार प्रदान गरिएको छ।
डा. निरोज दाहाल, डा. सागर अर्याल, विपिन्द्र पाण्डे पनि पुरस्कृत भए। यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. सोनी बरालले प्राप्त गरिन। यसै गरी संस्थागततर्फ नेपाल गणित समाज र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई पुरस्कृत गरिएको छ।
यस्तै विज्ञान प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी कमला तामाङ पाख्रिनलाई प्रदान गरियो। यसै गरी दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कारबाट छात्रातर्फ सुजा महर्जन र छात्रतर्फ हरि अछामीलाई पुरस्कृत गरिएको छ। इन्द्रबहादुर कटुवाल कृषि पुरस्कारबाट डा. मदनराज भट्टलाई प्रदान गरिएको
भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल मझुवागढी नगरपालिका खोटाङलाई प्रदान गरिएको छ। बालकृष्ण श्रेष्ठ प्रविधि पुरस्कार डा. छवि मिश्रा र विष्णुप्रसाद देवकोटालाई प्रदान गरिएको छ।
यसै गरी कदरपत्रबाट पनि विभिन्न व्यक्ति सम्मानित हुनुभएको छ। कदरपत्रबाट सम्मानित हुनेमा रविलक्ष्मी चित्रकार, उषा बुढाथोकी, हिक्मतराज जोशी र डा. शुभनारायण महतो छन्।
यस्तै चिकित्सा विज्ञानबाट रेडियोलोजिस्ट प्राडा सुनील प्रधान सम्मानित भएका छन्। सम्मानित हुनेको तर्फबाट डा. सुबोध शर्माले मन्तव्य राखेका थिए। यसै गरी नास्टमा कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको थियो। यसरी सम्मान पाउनेमा डा. सुरेशकुमार ढुङ्गेल, डा. डिगेन्द्र खड्का, डा. रामचन्द्र पौडेल छन्।
बजेट बढाउनु पर्छ : मन्त्री पुन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको ४३ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञान प्रविधिको अनुसन्धानमा बजेट बढाउनुपर्ने बताए। मन्त्री पुनले विज्ञान प्रविधि क्षेत्रमा बजेट बढाउन सके देशको विकास हुने बताए।
विकसित देशमा औद्योगिक क्रान्तिसहित विज्ञान प्रविधि क्षेत्रमा फड्को मारेको भन्दै नेपालमा विज्ञान, प्रविधिको क्षेत्रमा कुनै प्रगति हुन नसकेको उनले बताए। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा दिलीप सुब्बाले पहिलेको तुलनामा प्रतिष्ठानले उपलब्धिमूलक काम गरेको बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २१ मंसिर २०८२, आईतवार