Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
भारतीय खगोलविद्हरूले ५३ वटा नयाँ सुपरम्यासिभ अर्थात् अत्यधिक भयंकर ब्ल्याक होलद्वारा सञ्चालित क्वासार फेला पारेका छन् जसले प्रकाशको गति नजिक पुग्ने तीव्रतामा पदार्थका जेटहरू फालिरहेका छन्। यी जेटहरू ७.२ मिलियन प्रकाश–वर्षसम्म फैलिएका छन्, जुन आकाशगंगा मिल्की वेको चौडाइभन्दा करिब ५० गुणा ठूलो छ।
यी विशाल वस्तुहरूलाई ‘जायन्ट रेडियो क्वासार’ भनेर चिनिन्छ र यी वैज्ञानिकहरूले हालै फेला पारेका ३६९ वटा रेडियो क्वासारमध्येका हुन्। यी वस्तुहरू भारतको पुणे नजिक रहेको ३० वटा पाराबोला डिशहरू भएको जायन्ट मिटरवेभ रेडियो टेलिस्कोप (जीएमआरटी) ले संकलन गरेको टीआईएफआर जीएमआरटी स्काइ सर्भे (टीजीएसएस) को डाटामा भेटिएका हुन्।
टीजीएसएसले पृथ्वीमाथिको करिब ९० प्रतिशत आकाश ढाकेको थियो जसको संवेदनशीलता र व्यापक अवलोकनक्षमताले यी विशाल रेडियो–उत्सर्जक संरचना पहिचान गर्न सहयोग गर्यो।
“यी रेडियो जेटहरूको आकार हाम्रो सौरमण्डल वा हाम्रो आकाशगंगासँग तुलना गर्न सकिने खालका छैनन्,” अनुसन्धान टोलीका सदस्य र मिदनापुर सिटी कलेजका शोधकर्ता सौविक मानिकले ईमेलमार्फत भने। “हामी २० देखि ५० वटा मिल्की वे आकाशगंगाहरूलाई एकसाथ पंक्तिबद्ध गरिएजस्तै आकारको बारेमा कुरा गरिरहेका छौँ।”
स्पेस डटकमका अनुसार विशाल आकाशगंगाहरूको केन्द्रमा लाखौँदेखि अर्बौँ सूर्यको पिण्ड बराबरका सुपरम्यासिभ ब्ल्याक होल हुने मानिन्छ। तर सबै ब्ल्याक होलले सक्रिय ग्यालाक्टिक न्यूक्लियस (एजीएन) वा अत्यन्त शक्तिशाली ‘क्वासार’ जस्ता उज्यालो केन्द्रहरू बनाउँदैनन्।
क्वासार बन्न सुपरम्यासिभ ब्ल्याक होल वरिपरि प्रशस्त ग्यास र धुलो हुनु आवश्यक पर्छ। यी पदार्थहरू ब्ल्याक होल वरिपरि ‘एक्रिसन डिस्क’ मा घुम्छन् र ब्ल्याक होलको शक्तिशाली गुरुत्वीय प्रभावले तीव्र तान्ने बल पैदा गरी तातो बनाउँछ, जसले विद्युत्चुम्बकीय स्पेक्ट्रमभरि ऊर्जा उत्सर्जन गर्छ।
तर ब्ल्याक होलले सबै पदार्थ निल्दैन। बलियो चुम्बकीय क्षेत्रले अत्यधिक आयनाइज्ड ग्यासलाई ब्ल्याक होलका ध्रुवतर्फ च्यानलाइज गर्छ र त्यसलाई प्रकाशको गति नजिक पुर्याएर दुई दिशामा तीव्र जेटको रूपमा फालिन्छ। समयक्रममा यी जेटहरू फैलिँदै ठूलो लोबको रूपमा विकसित हुन्छन्, जसले बलियो रेडियो तरंग उत्सर्जन गर्छन्।
“यी विशाल रेडियो जेटहरूले क्वासारहरूको विकासका ढिला चरणहरू र तिनीहरू फैलिने अन्तरआकाशीय माध्यम बुझ्न महत्वपूर्ण भूमिका खेल्छन्,” टोलीका प्रमुख र मिदनापुर सिटी कलेजका खगोलविद् सब्यसाची पालले भने। तर यस्ता वस्तु भेट्नु सजिलो नभएको उनले बताए। दुई लबलाई जोड्ने कमजोर उत्सर्जन ‘ब्रिज’ प्रायः फितलो भएर हराइदिने भएकाले संरचना भाँचिएको जस्तो देखिन सक्छ।
“कम आवृत्तिका रेडियो सर्वेक्षणहरूले यी प्रणालीहरू पत्ता लगाउन विशेष प्रभावकारी हुन्छन्,” पालले भने, “किनकि लोबमा रहेको पुरानो कणीय प्लाज्माले उच्च आवृत्तिको भन्दा कम आवृत्तिमा बढी बलियो उत्सर्जन गर्छ।” टोलीले जायन्ट रेडियो क्वासारहरू बसोबास गर्ने वातावरणबारे पनि रोचक तथ्य भेट्टायो जस अन्तर्गत कम्तीमा १४ प्रतिशत वस्तुहरू ग्यालक्सी समूह, क्लस्टर र ग्यालक्सीहरू भेला हुने ‘कोस्मिक फिलामेन्ट’ नजिक भेटिएका छन्।
“जेटहरूको विकासमा वातावरणले ठूलो भूमिका खेल्छ,” टोलीका सदस्य र सिद्धो कान्हो बिर्सा विश्वविद्यालयका नताई भुक्ताले भने। “घना क्षेत्रमा जेटहरू सुस्त, बाङ्गो वा अवरुद्ध हुन सक्छन्, जबकि खाली क्षेत्रमा सहजै फैलिन सक्छन्।” धेरै क्वासारहरूले दुईवटा जेट फाल्छन् तर ती प्रायः लम्बाइ वा चमकमा असमान देखिन्छन्। यसलाई ‘रेडियो जेट एसिमेट्री’ भनिन्छ। “यसले जेटहरू असमान अन्तरिक्षीय वातावरणसँग लडिरहेको संकेत गर्छ,” शोधकर्ता सुशान्त के. मण्डलले भने।
टोलीले टाढाका विशाल क्वासारहरूमा यो असमानता अझ बढेको देख्यो। टाढा भएका कारण हामी ती वस्तुहरूलाई प्रारम्भिक ब्रह्माण्डको अवस्थाकै रूपमा देखिरहेका हुन्छौँ, जब ब्रह्माण्ड बढी अव्यवस्थित र ग्यासले भरिएको थियो, जसले जेटको मार्ग बिगार्न सक्छ।
उनीहरूको अनुसन्धान नोभेम्बर १३ मा द एस्ट्रोफिजिकल जर्नल सप्लिमेन्ट सिरिजमा प्रकाशित भएको छ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार