Technology Khabar १६ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
अस्ट्रेलियाले मंगलबार आर्थिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग बढाउने उद्देश्यसहित नयाँ रोडम्याप सार्वजनिक गरेको छ, तर उच्च जोखिमका अवस्थामाथि कडा नियम ल्याउने पहिलेका योजनाबाट पछि हट्दै नयाँ जोखिम व्यवस्थापनका लागि विद्यमान कानुनमै भरिने बताएको छ।
अस्ट्रेलियामा अहिले विशेष एआईसम्बन्धी कानुन छैन तर सरकारले गोपनीयता, सुरक्षा र पारदर्शिताबारे बढ्दो चिन्ताबीच गत वर्ष स्वैच्छिक दिशानिर्देश ल्याउने संकेत दिएको थियो।
मंगलबार सार्वजनिक राष्ट्रिय एआई योजनामा लेबर सरकारले उन्नत डाटा सेन्टरहरूमा लगानी आकर्षित गर्ने, रोजगारीलाई समर्थन र संरक्षण गर्न एआई सीप विकास गर्ने र दैनिक जीवनमा एआईको समावेश बढ्दै जाँदा सार्वजनिक सुरक्षामा ध्यान केन्द्रित गर्ने उल्लेख गरेको छ।
“सरकारको एआईसम्बन्धी नियामक दृष्टिकोण अस्ट्रेलियाको बलियो कानुनी र नियामक संरचनामै आधारित रहनेछ, र स्थापित कानुनहरू एआई –सम्बन्धी जोखिम सम्बोधन र न्यूनीकरणको आधार रहिरहनेछन्,” योजनामा भनिएको छ।
आफ्ना–आफ्ना क्षेत्रका एजेन्सी र नियामक निकायहरू सम्भावित एआई–सम्बन्धी हानि पहिचान र व्यवस्थापनका लागि जिम्मेवार रहने उल्लेख गरिएको छ। गत महिना सरकारले उदीयमान जोखिम निगरानी र खतरा पहिचान गर्न २०२६ मा एआई सेफ्टी इन्स्टिचयुट स्थापना गर्ने घोषणा गरेको थियो।
माइक्रोसफ्टको सहयोगमा बनेको ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनी जस्ता जेनेरेटिभ एआई उपकरणको व्यापक प्रयोगसँगै गलत सूचना फैलिने जोखिम बढिरहेको भन्दै विश्वभरका नियामक निकायहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। संघीय उद्योगमन्त्री टिम आयर्सले एआई रोडम्यापले अस्ट्रेलियालीहरूलाई नयाँ प्रविधिबाट लाभ लिन मद्दत गर्ने र नवप्रवर्तन र जोखिम व्यवस्थापनबीच सन्तुलन कायम गर्ने उद्देश्य रहेको बताए।
“प्रविधि निरन्तर विकसित हुँदै जाँदा, हामी नयाँ अवसर समात्न र अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न निर्णायक रूपमा कदम चाल्न यो योजनालाई अझ परिमार्जन र सुदृढ गर्दै जानेछौं,” आयर्सले भने। तर अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका एसोसिएट प्रोफेसर नियुसा सफियाबाडीले सरकारको नयाँ एआई रोडम्यापमा महत्वपूर्ण कमी रहेको टिप्पणी गरे।
“यो योजना डाटा उपयोग र उत्पादकता बढाउन महत्वाकांक्षी छ, तर उत्तरदायित्व, सार्वभौमिकता, दिगोपन, र लोकतान्त्रिक निगरानीजस्ता महत्वपूर्ण पक्ष खाली छोडिएको छ,” उनले भने। “यी अनपेक्षित क्षेत्र सम्बोधन नगरेमा अस्ट्रेलियाले कुशल तर न्यायसंगत वा भरोसायोग्य नभएको एआई अर्थतन्त्र निर्माण गर्ने जोखिम रहन्छ।”
प्रकाशित: १६ मंसिर २०८२, मंगलवार