Technology Khabar ८ मंसिर २०८२, सोमबार
काठमाडौं ।
सरकारले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छाप्न सुरु गरे पनि उक्त कामले गति लिन सकेको छैन।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मन्त्रालयका सचिवसहितको उपस्थितिमा लाइसेन्स छपाइको काम सुरु गरिएको थियो। छपाइ गर्न सुरु गरिए पनि यातायात व्यवस्था विभागबाट केन्द्रले माग गरेको फर्म्याटको विवरण प्राप्त नभएका कारण लाइसेन्स छपाइको कामले गति लिन नसकेको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले यातायात व्यवस्था विभागबाट छपाइ गर्ने लाइसेन्सको तथ्याङ्क आउन ढिलाइ भएकाले दोस्रो चरणको छपाइ सुरु नभएको बताए। “पहिलो चरणमा विभागबाट तथ्याङ्क आएको ५२० वटा सवारी अनुमतिपत्र छपाइ भएर विभागलाई हस्तान्तरण गरिसकिएको छ। दोस्रो चरणको छपाइका लागि एक हजार १७५ थानको विवरण प्राप्त भएको छ. उक्त कार्य तुरुन्त सुरु गरिने छ.” तिमिल्सिनाले भने।
उनले यातायात व्यवस्था विभागमा रहेका पुरानो तथ्याङ्क रिकभर हुन समस्या देखिएकाले विभागबाट केन्द्रले माग गरे अनुसारको फर्म्याटको तथ्याङ्क आउन नसकेको बताए।
उनले विभागबाट तथ्याङ्क आएको खण्डमा सवारीचालक अनुमतिपत्र छपाइमा समस्या नहुने बताए। केन्द्रमा रहेका उपकरणबाट प्रतिघण्टा दुई हजार पाँच सय थान लाइसेन्स प्रिन्ट गर्न सकिने उनको भनाइ छ।
“केन्द्रमा रहेको उपकरणलाई दैनिक १० घण्टा चलाइयो भने हामी दैनिक २५ हजार थान लाइसेन्स छाप्न सक्छौं, नयाँ आवेदनको सन्दर्भमा कुनै समस्या नभए पनि विभागमा रहेका र जलेर नष्ट भएका निवेदनको तथ्याङ्क रिस्टोर हुन समस्या देखिएकाले छपाइका लागि धेरै माग भएको छैन,” उपसचिव तिमिल्सिनाले थपे।
उनले केन्द्र र यातायात व्यवस्था विभागबिच कात्तिक १२ गते छ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ गर्ने सहमति भएको बताए। केन्द्र र विभागबिच पहिलो तीन महिना केन्द्रले दैनिक पाँच सय वटा लाइसेन्स छाप्ने र बाँकी तीन महिनामा १२ लाखमध्ये बाँकी रहेका झन्डै साढे ११ लाख लाइसेन्स छपाइ गर्ने सहमति भएको हो। विभागले १२ लाख लाइसेन्स छपाइबापत केन्द्रलाई करिब २६ करोड रुपियाँ भुक्तानी गर्ने छ।
उपसचिव तिमिल्सिनाले मुद्रण केन्द्रका लागि उपकरण आपूर्ति गरेको सप्लायर्सको सहयोगमा केन्द्रमा रहेका पुराना कर्मचारीबाट केन्द्रमा छपाइको काम सुरु गरिएको बताए।
“केन्द्रका लागि नौ जना नयाँ कर्मचारी चयन गरिएको छ, उहाँहरूलाई सोमबारदेखि केन्द्रमा नै लगेर तालिम दिने छौं,” उनले थपे। गत वर्ष केन्द्रबाट नमुनाका रूपमा अन्तःशुल्क स्टिकर छापे पनि पछि अन्तःशुल्क स्टिकर छपाइको काम भने सुरु हुन सकेको थिएन। उपसचिव तिमिल्सिनाले केन्द्रबाट तत्कालका लागि पेपर वेस अन्तर्गत लाइसेन्सका साथै हुलाक टिकट, अन्तःशुल्क स्टिकर छाप्न सकिने बताए। उनले डेढ करोड थान हुलाक टिकट छपाइका लागि केन्द्र र हुलाक सेवा विभागबिच सम्झौता हुने चरणमा रहेको बताए।
दुई संस्थाबिच अर्को साता सम्झौता हुने बताउँदै पहिलो चरणमा १५ लाख थान हुलाक र दोस्रो चरणमा बाँकी रहेका टिकट छाप्ने तयारी भइरहेको बताए। उनले केन्द्रमा रहेको कटिङ र लेमिनेसन मेसिनले प्रतिघण्टा पाँच सय मात्रै काम गर्न सकिने भएकाले दैनिक २५ हजार थान लाइसेन्स मात्रै छपाइ गर्न सक्ने क्षमता रहेको बताए।
राहदानी, बैङ्क नोटलगायत छपाइ गर्न विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- धनेश्वरमा ws. निर्माणाधीन सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस ) निर्माणको काम सुरु गरेको हो।
आजको गोरखापत्रबाट
प्रकाशित: ८ मंसिर २०८२, सोमबार