Technology Khabar ८ मंसिर २०८२, सोमबार
काठमाडौं ।
ट्रम्प प्रशासन चीनलाई एनभिडियाका एच२०० आर्टिफिसियल इन्टेलिजेन्स चिप बिक्री गर्न अनुमति दिने विचार गरिरहेको छ। द्विपक्षीय सम्बन्ध सुधारसँगै उन्नत अमेरिकी प्रविधि चीनमा निर्यात हुने सम्भावना बढेको अमेरिकी प्रशासनका बारेमा जानकार व्यक्तिहरूले जनाएका छन्।
अमेरिकी निर्यात नियन्त्रण हेर्ने कमर्स विभागले चीनलाई यस्तो चिप बिक्री गर्न रोक्दै आएको नीतिमा परिवर्तन गर्ने विषयमा समीक्षा गरिरहेको ती स्रोतहरूले बताएका छन् तर योजनामा कुनै पनि बेला परिवर्तन हुनसक्ने बताएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले भने, “प्रशासन अमेरिकाको विश्वव्यापी प्रविधि नेतृत्व सुरक्षित गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ।” कमर्स विभागले टिप्पणीको अनुरोधमा प्रतिक्रिया दिएको छैन।
एनभिडियाले समीक्षाबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि हालको नियमका कारण चीनमा प्रतिस्पर्धी एआई डाटा–सेन्टर चिप प्रस्ताव गर्न नसक्ने बताउँदै, यसले तीव्र गतिमा बढिरहेका विदेशी प्रतिस्पर्धीहरूलाई ठूलो बजार छोड्न बाध्य बनाएको उल्लेख गरेको छ।
रोयटर्सका अनुसार यो सम्भावनाले चीनप्रति अपेक्षाकृत मैत्रीपूर्ण व्यवहारको संकेत गर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी चिनफिङले गत महिना बुसानमा व्यापार तथा प्रविधि विवादमा अस्थायी समझदारी गरेका थिए।
वाशिङ्टनका चीन–कडा धरातलका नेताहरू अझ उन्नत एआई चिप चीनले पाउँदा बेइजिङले आफ्नो सैन्य क्षमता तीव्र रूपमा बढाउन सक्ने भन्दै चिन्तित छन्। यी डरकै कारण बाइडेन प्रशासनले यस्ता चिप निर्यातमा कडा सीमा तोकेको थियो।
यसवर्ष चीनले दुर्लभ खनिजमा लगाएका निर्यात नियन्त्रणलाई देखाउँदै ट्रम्पले चीनतर्फ प्रविधि निर्यातमा नयाँ प्रतिबन्धको चेतावनी दिएका थिए। तर अधिकांश अवस्थामा ती प्रतिबन्ध पछि फुकुवा गरिएका थिए।
दुई वर्षअघि सार्वजनिक गरिएको एच२०० चिपमा यसको पूर्ववर्ती एच१०० भन्दा बढी हाइ–ब्यान्डविथ मेमोरी छ जसले डाटा छिटो प्रशोधन गर्न मद्दत गर्छ।
यसलाई चीनमा कानुनी रूपमा निर्यात गर्न पाइने एनभिडियाको सबैभन्दा उन्नत एआई चिप एच२० भन्दा करिब दुई गुणा शक्तिशाली मानिन्छ। यस वर्ष सुरुआतमा ट्रम्प प्रशासनले यस्तो चिप बिक्रीमा लागेको छोटो–समयको प्रतिबन्ध फिर्ता लिएपछि एच२० चीनमा बिक्रीयोग्य बनेको थियो।
यसै हप्ता ट्रम्पले “उत्कृष्ट व्यक्ति” भनेर वर्णन गरेका एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङ साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको वासिङ्टन भ्रमणका क्रममा ह्वाइट हाउसमा उपस्थित भएका पाहुनामध्ये एक थिए।
कमर्स विभागले यस हप्ता साउदी अरेबियाको ह्युमेन र संयुक्त अरब इमिरेट्सको जी४२ लाई एनभिडियाका अर्को–पुस्ताका एआई चिप ‘ब्ल्याकवेल’ का ७०,००० इकाइसम्म बराबरका चिप पठाउन स्वीकृति दिएको जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८२, सोमबार