
काठमाडौं ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नुम्बुर प्राविधिक शिक्षालय सुरु भएको छ। नगपालिकाको साढे तीन करोड रुपियाँ लागत साझेदारीमा प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ।
सोलुदुधकुण्ड नगरपालिका-७, गार्मामा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवनको आइतबार नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले उद्घाटन गरेका हुन्।
स्थानीय सरकारको लागत साझेदारीमा फ्रान्सेली दाताको समूह ‘सोलु च्याम’ ले सञ्चालनमा ल्याएको नुम्बुर भोकेसनल ट्रेनिङ सेन्टरमा विभिन्न पाँच वटा विधामा प्राविधिक शिक्षा दिन थालिएको छ।
सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, होटेल व्यवस्थापन र कुकको क्षेत्रमा ६० जना विद्यार्थीलाई खाना बस्नसहित निःशुल्क अध्यापन गरिने संस्थाले जनाएको छ। सिटिइभिटीबाट सम्बन्धन लिइएको उक्त कोर्ष दुई बर्से हुन्।
उद्घाटनका क्रममा नगरप्रमुख शेर्पाले समग्र जिल्लाको शैक्षिक विकासमा योगदान गर्ने गरी खोलिएको यस शिक्षालयले प्राविधिक धारको पढाइमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै स्वदेशमै
रोजगारको ढोका खुल्ने बताउनुभयो । नगरपालिका तथा जिल्लाभरिका युवालाई स्वरोजगारमूलक सिप सिकाइ विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रूपमा पढाउन थालिएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।
नगरपालिकाको २० प्रतिशत र सोलु च्यामको ८० प्रतिशत लगानीमा स्थापना गरिएको यस केन्द्रले दोस्रो चरणको तालिम कात्तिक २४ गतेबाट सुरु गर्ने जनाएको छ। उक्त तालिममा १५ वर्षदेखि १९ वर्ष उमेर समूहका विद्यार्थीका लागि आधुनिक प्रयोगशाला र इन्टर्नसिप सुविधासमेत उपलब्ध हुने छ ।
पहिलो प्राथमिकतामा नगरपालिका र बाँकी जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ । एसइई दिएका विद्यार्थी आवासीय रूपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाडौँ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि निःशुल्क खाना बस्नको व्यवस्था मिलाइएको छ ।
विद्यार्थीलाई अङ्ग्रेजी भाषा, सूचना प्रविधि गणित, व्यवस्थापन र लेखा विषयको अध्ययन अनिवार्य गरिएको छ। तालिमपछि रोजगारी र उद्यमशीलतासम्बन्धी सहयोग र परामर्श पनि प्रदान गरिने छ। जहाँ पहिलो चरणमा ३० जना विद्यार्थीको केही समयदेखि तालिम भइरहेको छ। उक्त तालिम २०२७ सम्म सञ्चालन हुने छ।
यसैबिच केही समयअघि नगरपालिका र सोलु च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय दिगो रूपमा सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भइसकेको छ।
व्यावसायिक शिक्षा लिनकै लागि लाखौं खर्च गरेर काठमाडौं धाउनुपर्ने बाध्यता रहेको अवस्थामा प्राविधिक शिक्षालय खुलेसँगै निःशुल्क रूपमा जिल्लामै पढ्न पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रशिक्षार्थी प्रियंसा राईले बताइन्।
इलेक्ट्रोनिक्स विधामा प्रशिक्षण लिइरहेकी राईले तालिम धेरै राम्रो भएकाले यसमै आफ्नो भविष्य देखेकी छिन्। आफ्ना छोराछोरीलाई गाउँघरमै व्यावसायिक शिक्षा दिन पाउँदा अभिभावकले खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा सोलु च्यामका फ्रान्सेली नागरिक पिएर, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी कैसी पाण्डे, सोलुदुधकुण्ड नगरपालिकाका सामाजिक विकास समिति संयोजक सोनामग्याल्जेन शेर्पालगायतले यो शिक्षालय जिल्लाकै गौरव भएको बताएका छन्।
आजको गोरखापत्रबाट
प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार