एप्पलद्वारा ‘फोर्टनाइट’ निर्माता एपिक गेम्ससँगको विवाद सुल्झाउन एप स्टोरमा सुधारको प्रस्ताव

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले मंगलबार भिडियो गेम ‘फोर्टनाइट’ निर्माता एपिक गेम्ससँग भएको कानुनी विवादको समाधानका लागि अमेरिकी अदालतमा एक व्यापक सम्झौतामा पुगेको घोषणा गरेको छ।

यस सम्झौतामा एन्ड्रोइड र एप स्टोरसम्बन्धी सुधार प्रस्ताव गरिएको छ, जसको उद्देश्य शुल्क घटाउने, प्रतिस्पर्धा बढाउने र विकासकर्ता तथा उपभोक्ताका लागि विकल्प विस्तार गर्ने हो।

सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा दुवै कम्पनीले संयुक्त रूपमा न्यायाधीश जेम्स डोनाटोलाई सन् २०२० मा एपिकद्वारा दायर गरिएको एन्टिट्रस्ट मुद्दा समाधान गर्ने प्रस्तावमा विचार गर्न अनुरोध गरेका छन्।

उक्त मुद्दामा एपिकले गुगलमाथि एन्ड्रोइड प्रयोगकर्ताहरूलाई एप पहुँच र इन-एप खरिदमा एकाधिकार जमाएको आरोप लगाएको थियो। गुगलले भने सम्पूर्ण मुद्दा अवधिभर कुनै गल्ती नगरेको दावी गर्दै आएको छ।

यो प्रस्ताव न्यायाधीश डोनाटोको स्वीकृतिपछि मात्र कार्यान्वयन हुनेछ। सन् २०२३ मा भएको मुद्दामा एपिक विजयी भएको थियो, र त्यसपछि डोनाटोले गुगलको प्ले स्टोरमा सुधार गर्न आदेश दिएका थिए। गुगलले ती सुधारहरू अत्यधिक कठोर भएको भन्दै तिनले आफ्नो प्रतिस्पर्धात्मक स्थिति कमजोर पार्ने र प्रयोगकर्ताको सुरक्षामा असर पार्ने जनाएको थियो।

नयाँ प्रस्तावअनुसार, गुगलले प्रयोगकर्ताहरूलाई नयाँ सुरक्षा मापदण्ड पूरा गर्ने तृतीय-पक्ष एप स्टोरहरू सजिलै डाउनलोड र इन्स्टल गर्न अनुमति दिनेछ। विकासकर्ताहरूले आफ्ना एपभित्र र बाह्य वेब लिङ्कमार्फत प्रयोगकर्तालाई वैकल्पिक भुक्तानी विधितर्फ निर्देश गर्न पाउनेछन्। गुगलले यस्ता लेनदेनमा सेवा शुल्क ९ प्रतिशत वा २० प्रतिशतको सीमाभित्र राख्ने जनाएको रोयटर्सले उल्लेख गरेको छ।

गुगलका एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर समतले मंगलबार भने, “प्रस्तावित परिवर्तनहरूले प्रयोगकर्ताको सुरक्षा कायम राख्दै विकासकर्ता र उपभोक्ताका लागि लचिलोपन बढाउनेछन्।” उनले यो सम्झौता न्यायाधीश डोनाटोसँग छलफल गर्न उत्सुक रहेको बताए। डोनाटोले बिहीबार यस मुद्दासम्बन्धी सुुनुवाइ गर्न वकिलहरूसँग भेट्ने तय गरिएको छ।

एपिक गेम्सका प्रमुख कार्यकारी टिम स्विनीले गुगलको प्रस्तावलाई “उत्कृष्ट” भन्दै यसले “एन्ड्रोइडको खुला प्लेटफर्मको मूल दृष्टिकोणलाई अझ सबल बनाएको” प्रतिक्रिया दिएका छन्।

गुगलले यसअघि डोनाटोको आदेशविरुद्ध संघीय अपिल अदालतमा चुनौती दिएको थियो, तर अदालतले गत जुलाईमा सो आदेशलाई यथावत् राखेको थियो। अमेरिकी सर्वोच्च अदालतले गत महिनामा गुगलको अस्थायी स्थगन माग अस्वीकार गरेको थियो।

गुगल र एपिकले मंगलबार दर्ता गरेको संयुक्त निवेदनमा डोनाटोलाई आफ्नो आदेशमा केही संशोधन गर्न अनुरोध गरिएको छ, तर अधिकांश प्रावधानहरू जस्ताका तस्तै राख्ने भनिएको छ। गुगल हाल पनि खोज र विज्ञापन व्यवसायमा राज्य र संघीय कानुन उल्लङ्घन गरेको आरोपमा अन्य मुद्दाहरू सामना गरिरहेको छ, जसमा उसले कुनै गलत कार्य नगरेको दावी गरेको छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया