सी जिनपिङसँगको भेटमा एनभिडियाको अत्याधुनिक ब्ल्याकवेल एआई चिपबारे कुरा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

Technology Khabar १३ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

बिहीबार हुने अपेक्षित भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एनभिडियाको अत्याधुनिक ब्ल्याकवेल एआई चिपबारे कुरा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन्।

अमेरिकी कम्पनीका उच्चस्तरीय एआई चिपहरूको चीनमा बिक्रीले यस वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीचका लामो व्यापार वार्ताको मुख्य विवादका विषयहरू मध्ये एक बनेको छ।

वाशिङ्टनले एनभिडियालाई चीनमा सबैभन्दा उन्नत एआई चिपहरू बेच्न नदिने निर्यात नियन्त्रण लगाएकोप्रति बेइजिङ लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ। अमेरिकाले यी प्रतिबन्धको बचाउ गर्दै चिनियाँ सेनाले ती चिपहरू प्रयोग गरेर आफ्नो क्षमता बढाउने आरोप लगाएको छ।

रोयटर्सका अनुसार दक्षिण कोरियाको ग्योङ्जु जाँदै गर्दा एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले एनभिडियाको वर्तमान प्रमुख ब्ल्याकवेल मोडेललाई “सुपर-डुपर चिप” भनेर प्रशंसा गरे र यसबारे सीसँग कुरा हुन सक्ने संकेत दिए। “म सोच्दछु हामी राष्ट्रपति सीसँग त्यसबारे कुरा गर्न सक्छौं,” ट्रम्पले भने, साथै उनले सीसँगको भेटबारे “धेरै आशावादी” भएको बताए। यो उनको ह्वाइट हाउस फर्किएपछि हुने पहिलो भेट हुनेछ।

अनिश्चित चिप निर्यात नियन्त्रण

ट्रम्पको दोस्रो प्रशासनले एनभिडियाका उन्नत चिपहरू चीनमा अनुमति दिने विषयमा फरक–फरक निर्णय गर्दै आएको छ। कतिपयले यसले चीनलाई अमेरिकी प्रविधीमा अझ निर्भर बनाउने बताउँछन् भने अरूले यसको सैन्य तथा प्रविधि कम्पनीहरूलाई प्रतिस्पर्धात्मक लाभ दिन सक्ने तर्क गर्छन्।

गत अप्रिलमा सरकारले चीनका लागि विशेष रूपमा बनाइएको एनभिडियाको एच२० चिप बिक्री गर्न रोक लगाएको थियो, जसपछि कम्पनीले ब्ल्याकवेल आर्किटेक्चरमा आधारित तर केही कम शक्तिशाली नयाँ संस्करण तयारी गरेको थियो।

तीन महिनापछि वाशिङ्टनले दुर्लभ खनिजहरूको निर्यात सम्बन्धी वार्ताको भागका रूपमा एच२० बिक्री प्रतिबन्ध हटाएको थियो।

ट्रम्पले अगस्टमा पनि भनेका थिए कि उनी एनभिडियालाई चीनमा एच२० चिप बिक्री गर्न अनुमति दिनेछन्, तर सर्तका रूपमा अमेरिकी सरकारले त्यहाँका केही उन्नत चिप बिक्रीमा कम्पनीको आम्दानीको १५ प्रतिशत हिस्सा पाउनेछ। यसले कम्पनीलाई एच२० भन्दा शक्तिशाली चिपहरू बिक्री गर्ने सम्भावना खोल्नेछ।

प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया