साउदी अरेबियाको पहिलो एआईबाट चल्ने अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एआई स्टार्टअप ह्युमेन

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

साउदीको सार्वभौम सम्पत्ति कोषद्वारा स्थापना गरिएको एआई स्टार्टअप ह्यूमेनले प्रयोगकर्ताले कम्प्युटरसँग बोल्दै काम गराउन सक्ने नयाँ अपरेटिङ सिस्टम यस साताभित्रै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीले सोमबार जनाएको छ।

कम्पनीका प्रवक्ताका अनुसार, ह्युमेनले आफ्नो नयाँ उत्पादन ह्युमेन १ लाई विगत १९८० को दशकदेखि पर्सनल कम्प्युटर बजारमा अग्रपंक्तिमा रहेका आइकन-आधारित प्रणालीहरू — जस्तै विन्डोज वा म्याकओएस — का वैकल्पिक प्रणालीका रूपमा देखेको छ।

“अब तपाईंले फरक-फरक एप्लिकेशनका लागि आइकनमा क्लिक गर्नुको सट्टा आफ्नो उद्देश्य नै कम्प्युटरलाई बोल्ने माध्यमबाट बताउनुहुन्छ,” ह्यूमेनका सीईओ तारिक अमिनले रियाधमा आयोजित फर्च्युन ग्लोबल फोरममा भने।

रोयटर्सका अनुसार अरू केही कम्पनीहरूले पनि यस्तै प्रविधिमा काम गरिरहेका भए पनि ह्युमेन आफ्नो प्रणाली आधिकारिक रूपमा सार्वजनिक गर्ने पहिलो कम्पनी बन्न चाहन्छ।

ह्युमेनलाई यस वर्ष मे महिनामा साउदीको सार्वजनिक लगानी कोष अन्तर्गत स्थापना गरिएको हो, जसका अध्यक्ष क्राउन प्रिन्स मोहम्मद बिन सलमान हुन्। कम्पनीले डेटा सेन्टर, एआई इन्फ्रास्ट्रक्चर, क्लाउड सेवा र उन्नत एआई मोडेलहरूजस्ता सेवा र उत्पादनहरू प्रदान गर्छ।

कम्प्युटरको अपरेटिङ सिस्टम भनेको प्रयोगकर्ता र मेसिनबीचको पुल हो, जसले हार्डवेयर स्रोतहरू व्यवस्थापन गर्छ र अन्य सबै प्रोग्रामका लागि आधारभूत सेवा उपलब्ध गराउँछ।

नाम खुलाउन चाहेका प्रवक्ताले बताए अनुसार ह्युमेनले कम्पनी स्थापना भएपछि मे महिनादेखि नै नयाँ अपरेटिङ सिस्टमको विकास सुरु गरेको हो। कम्पनीले हाल यो प्रणालीलाई आफ्नो तलब र मानव स्रोत व्यवस्थापन प्रणालीमा आन्तरिक रूपमा परीक्षण गरिरहेको छ।

ह्युमेनले करिब ६ गीगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्ने योजना पनि बनाइरहेको तर त्यसको स्थान नखुलाइएको अमिनले सोमबार थप बताएका थिए।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया