Technology Khabar ४ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
यूट्युबरहरू अब विज्ञापन आम्दानीमा मात्र निर्भर रहँदैनन्, उनीहरूले आयका स्रोतहरू विविधीकरण गर्न थालेका छन्।
विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म यूट्युबले सिर्जनशील व्यक्तिहरूका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसले सन् २०२४ मा अमेरिकी जीडीपीमा ५५ अर्ब डलरभन्दा बढी योगदान दियो र करिब ४९० हजार पूर्णकालिक रोजगारी सिर्जना गर्यो।
तर अहिले धेरै यूट्युबरहरूले विज्ञापन र ब्रान्ड सम्झौतामा निर्भरता घटाएका छन्। यसको मुख्य कारण विज्ञापन आम्दानी अस्थिर हुनु हो। यूट्युबले बारम्बार नीति परिवर्तन गर्ने भएकाले धेरै सिर्जनाकर्मीका भिडियोमा विज्ञापन सुरक्षित गर्न गाह्रो हुने र आम्दानी घट्ने गरेको छ।
यो महसुस गरेपछि, धेरै यूट्युबरहरूले आफ्ना प्लेटफर्ममा आधारित आम्दानीलाई दीर्घकालीन रूपमा टिकाउन नयाँ व्यवसाय सुरू गरेका छन्। उनीहरूले आफ्नै उत्पादन ब्रान्ड, खुद्रा पसल र उपभोक्ता व्यवसाय विस्तार गरेर यूट्युबको एल्गोरिदम वा नीतिगत परिवर्तनको असरबाट बच्ने रणनीति अपनाएका छन्।
केही अवस्थामा, यी साइड व्यवसायहरू यूट्युब च्यानलभन्दा छिटो र स्थायीरूपमा बढिरहेका छन्।
मिस्टरबीस्ट — ४४२ मिलियन सब्स्क्राइबर भएका मिस्टरबीस्ट यूट्युबका सबैभन्दा ठूलो सिर्जनाकर्मी मात्र होइन, सबैभन्दा ठूला उद्यमी पनि हुन्। सन् २०१८ मा उनले सुरू गरेको शपमिस्टरबीस्ट नामक मर्चेन्डाइज स्टोर अहिले ठूलो व्यवसायिक साम्राज्यमा परिणत भएको छ।
उनको फिस्टेबल्स नामक चकलेट ब्रान्डले पहिलो ७२ घण्टामै १ मिलियन बार बिक्री गर्दै १० मिलियन डलरको कारोबार गरेको थियो। सन् २०२४ मा फिस्टेबल्सले करिब २५० मिलियन डलर आम्दानी र २० मिलियन डलर नाफा गरेको थियो।
मिस्टरबीस्टका अन्य परियोजनामा लञ्चली (लोगान पल र केएसआईसँग सह–स्थापित), मिस्टरबीस्ट ल्याब (खेलौना ब्रान्ड), मिस्टरबीस्ट बर्गर, र भ्यूस्ट्याट्स एनालिटिक्स प्लेटफर्म समावेश छन्। उनले अमेरिकी लगानीकर्ता समूहसँग मिलेर टिकटकको अमेरिकी सञ्चालन खरिद गर्ने प्रयास पनि गरेका थिए।
टेकक्रञ्चका अनुसार हाल उनले मोबाइल सेवा क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेका छन्। उनले एटीएन्डटी, टि–मोबाइल वा भेरिजोनमध्ये कुनैसँग साझेदारी गरेर मोबाइल नेटवर्क सेवा सुरू गर्ने योजना बनाएका छन्। साथै उनले बैंकिङ, वित्तीय परामर्श र क्रिप्टो सेवासम्बन्धी मोबाइल एपका लागि ट्रेडमार्क दर्ता गरेका छन्।
एम्मा चेम्बरलेन — १२ मिलियन सब्स्क्राइबरकी चेम्बरलेनले २०१९ मा चेम्बरलेन कफी नामक कफी ब्रान्ड सुरू गरेकी थिइन्। यसले कोल्ड ब्रू, टी, म्याचा, ग्राउन्ड र बीन्स कफी उत्पादन गर्छ। सन् २०२३ मा ब्रान्डले करिब २० मिलियन डलरको आम्दानी गरेको फोर्ब्सले जनाएको छ। हाल यसले पहिलो खुद्रा स्टोर खोलेको छ र २०२५ सम्म ५० प्रतिशत आम्दानी वृद्धि हुने अनुमान गरिएको छ।
लोगान पल — २३.६ मिलियन सब्स्क्राइबर भएका पोल हाल डब्ल्युएडब्ल्युइ रेसलरका रूपमा परिचित छन्। उनले यूट्युबर केएसआईसँग मिलेर सन् २०२२ मा प्राइम एनर्जी ड्रिंक ब्रान्ड सुरू गरेका थिए, जसले २०२३ मा १.२ अर्ब डलरको बिक्री गरेको थियो। तर पछिल्लो वर्ष बिक्री घटेको र उच्च क्याफिनका कारण नियामक अनुसन्धानको सामना गरेको छ।
रायन काजी (रायन्स वर्ल्ड) — १३ वर्षका रायनले टय–रिभ्यु र अनबक्सिङ भिडियोमार्फत् करिब ४० मिलियन दर्शक आकर्षित गरेका छन्। उनका खेलौना र कपडा श्रृंखलाले सन् २०२० मा करिब २५० मिलियन डलर आम्दानी गरेको थियो। अहिले उनले बालमैत्री शैक्षिक सामग्रीसहितको टेलिभिजन शो र मोबाइल एप पनि सञ्चालन गरिरहेका छन्।
रोसाना पान्सिनो — १४.८ मिलियन सब्स्क्राइबरकी यो बेकिङ यूट्युबरले नर्डी नम्मीज नामक ब्रान्डमार्फत् पाककला पुस्तक र बेकिङ उपकरण बिक्री गर्छिन्।
मिशेल फान — सन् २००७ मा मेकअप ट्युटोरियलमार्फत् लोकप्रिय भएकी उनले इप्सी नामक ब्युटी सब्स्क्रिप्सन सेवा र आफ्नै ईएम कस्टेटिक्स ब्रान्ड सुरू गरेकी हुन्।
हुदा कत्तान — उनले सन् २०१३ मा हुदा ब्युटी स्थापना गरेकी थिइन्, जुन अहिले विश्वका सबैभन्दा ठूलो मेकअप ब्रान्डमध्ये एक बनेको छ। सन् २०१७ मा उनले कम्पनीको केही हिस्सा निजी लगानीकर्तालाई बेचिन् तर २०२४ मा पुनः किनिन्।
यूट्युब सिर्जनाकर्मीहरूले अहिले आफ्नो ब्रान्ड, व्यवसाय र उत्पादनहरूमा लगानी गरेर नयाँ ढंगले स्थायी आम्दानीका स्रोत विस्तार गरिरहेका छन्, जसले उनीहरूलाई विज्ञापन बजारको अस्थिरताबाट जोगाइरहेको छ।
प्रकाशित: ४ कार्तिक २०८२, मंगलवार