अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

  • Technology Khabar | ३ कार्तिक २०८२, सोमबार
अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

काठमाडौं ।

जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ।

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ।

मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा रहेको कमजोरीको फाइदा उठाई राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीहरूको उपकरणबाट संवेदनशील सूचना चोरी गरेको थियो। तर मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन।

त्यसैगरी एनएसएले केन्द्रका विभिन्न आन्तरिक नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका ‘विशेष साइबर हतियार’ प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म एक प्रमुख समय प्रणालीमा घुसपैठ गर्ने प्रयाससमेत गरेको चीनको भनाइ छ। उक्त जानकारी मन्त्रालयले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा प्रकाशित गरेको थियो।

वक्तव्यमा मन्त्रालयले आफूसँग प्रमाण रहेको दाबी गरे पनि ती प्रमाणहरू पोस्टमा सार्वजनिक गरिएको छैन। चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता प्रमुख क्षेत्रमा समय मापन तथा वितरण सेवा प्रदान गर्दै आएको छ। मन्त्रालयले जोखिम न्यूनीकरणका लागि केन्द्रलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ।

“अमेरिकाले अरूलाई निरन्तर दोष लगाउँदै आफ्नै कार्यलाई ढाकछोप गर्न खोज्दै आएको छ। उसले बारम्बार चीनमाथि साइबर आक्रमणका झूट्टा आरोपहरू लगाइरहेको छ”, मन्त्रालयको वक्तव्यमा भनिएको छ।

यसअघि पनि पश्चिमी मुलुकहरूले चीनसँग सम्बन्धित ह्याकरहरूले सरकारी निकाय, सञ्चार माध्यम, व्यापारिक संस्था तथा अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गरेको दाबी गर्दै आएका छन्। तर यसपटक चीनको वक्तव्यले व्यापार, प्रविधि र ताइवानसम्बन्धी विवादमा वासिङ्टन र बेइजिङबीचको तनाव अझ तीव्र बनाउन सक्ने सङ्केत देखाएको छ।

अमेरिकी दूतावासले भने चीनको यो आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन। चिनियाँ वक्तव्यले अमेरिकालाई नै विश्वभर साइबर आक्रमणको सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा चित्रित गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ३ कार्तिक २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ३ कार्तिक २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ३ कार्तिक २०८२, सोमबार