Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
फक्सवागन समूहले सन् २०२५ को पहिलो नौ महिनामा बिक्रीमा थोरै वृद्धि रेकर्ड गरेको र विश्वव्यापी रूपमा बिक्री हुने संख्या ६६ लाख सवारी साधन पुगेको छ।
चीन र उत्तरी अमेरिकामा बिक्री कमजोर भए पनि स्कोडा, सिट र कुप्रा मोडेलहरूको बढ्दो मागका कारण १.२ प्रतिशत वृद्धि भएको रिपोर्ट गरिएको छ।
फक्सवागन ब्रान्ड आफैँले २.८ प्रतिशतको वृद्धि देखेको र ३.४९ मिलियन युनिट पुगेको छ भने स्कोडाले १४.१ प्रतिशत बढी बिक्री गर्दै ७६५,७०० सवारी साधनको साथ ठूलो फड्को मारेको छ। सिट र कुप्राले पनि सकारात्मक प्रवृत्तिलाई पछ्याएको र कुल ४.१ प्रतिशत वृद्धि भएको उल्लेख गरिएको छ।
अर्कोतर्फ, समूहका लक्जरी ब्रान्डहरूमा अडीले ४.८ प्रतिशत, बेन्टले २ प्रतिशत, ल्याम्बोर्गिनीले ३.२ प्रतिशत र पोर्शले ६ प्रतिशत गिरावट भोगेका छन्।
त्यसैगरी सबैभन्दा समस्याग्रस्त भएको बजारहरूमा चिनियाँ बजार ४ प्रतिशत र उत्तर अमेरिकी बजार ७.८ प्रतिशतले घटेको उल्लेख गरिएको छ।
यद्यपि, विद्युतीय सवारी साधनको खण्डले यो गिरावटलाई सन्तुलन गरिरहेको बताइएको छ जसमा ब्याट्रीबाट चल्ने मोडेलहरूको बिक्री ४२ प्रतिशतले बढेर ७,१७,५०० एकाइ पुगेको छ भने प्लग–इन हाइब्रिडहरू ५५ प्रतिशतले बढेका छन्।
सबैभन्दा बलियो वृद्धि युरोप (+७८ प्रतिशत) र अमेरिका (+८५प्रतिशत) मा रेकर्ड गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ आश्विन २०८२, बुधबार