
काठमाडौं ।
ब्राजिलले आगामी छ महिनाभित्र टिकटकको डाटा सेन्टर निर्माण सुरु गर्ने भएको छ। शुक्रबार ब्राजिलका खानी तथा ऊर्जामन्त्री एलेक्जान्द्रे सिल्भेराले उक्त जानकारी दिएका हुन्। यस परियोजनाबाट करिब ५० अर्ब रियाल (९.११ अर्ब अमेरिकी डलर) लगानी आउने अपेक्षा गरिएको छ।
“अबदेखि छ महिनापछि हामी टिकटकको डाटा सेन्टर निर्माण सुरु गर्नेछौं,” मन्त्री सिल्भेराले विज्ञप्तिमा भनेका छन्।
यो परियोजना ब्राजिलको उत्तरपूर्वी राज्य सिआरामा आधारित हुने अनुमान छ। अप्रिलमा रोयटर्सले तीन जना स्रोतका आधारमा खुलासा गरेको थियो कि टिकटककी चिनियाँ मातृ कम्पनी बाइटडान्सले त्यहाँ डाटा सेन्टर स्थापना गर्ने सम्भावना अध्ययन गरिरहेको छ।
स्रोतका अनुसार यो सुविधा सिआराको पेसेम पोर्ट कम्प्लेक्समा बाइटडान्स र पवन ऊर्जा विकासकर्ता कासा दोस भेन्टोसको संयुक्त पहलमा निर्माण गरिने योजना छ।
सिल्भेराले नवीकरणीय ऊर्जाको उपलब्धताका कारण ब्राजिलमा डाटा सेन्टर लगानीका लागि ठूलो सम्भावना रहेको बताएका छन्। उनले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गत महिनामा डाटा सेन्टर परियोजनालाई आकर्षित गर्न संघीय कर छुटसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेको कुरा पनि उल्लेख गरे।
गत मे महिनामा कासा दोस भेन्टोसले पेसेम पोर्ट कम्प्लेक्समा ३०० मेगावाट क्षमताको डाटा सेन्टर परियोजनाका लागि दुई महत्वपूर्ण स्वीकृति प्राप्त गरेको घोषणा गरेको थियो।
प्रकाशित: २७ आश्विन २०८२, सोमबार