Technology Khabar २६ आश्विन २०८२, आईतवार
काठमाडौं ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विभिन्न शिक्षालयमा अध्ययनरत १५ हजार परीक्षार्थीको उत्तर पुस्तिका जलेर नष्ट भएका छन् ।
परीक्षार्थीको परीक्षा सकेर सुरक्षाका लागि विभिन्न प्रहरी चौकीमा राखिएका ती उत्तरपुस्तिका जलेका हुन्। उक्त आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए।
सिटिइभिटीका सदस्यसचिव महेश भट्टराईका अनुसार बागमती प्रदेशका १८ वटा प्रहरी चौकी र कोशी प्रदेशका पाँच वटा प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका जलेका हुन्। बागमती प्रदेशमा जलेका अधिकांश उत्तरपुस्तिका काठमाडौँका छन्।
ती उत्तरपुस्तिका सिटिइभिटीले सञ्चालन गरेको डिप्लोमा र प्रिडिप्लोमा तहका इन्जिनियरिङ, स्वास्थ्यलगायतका विषयमा अध्ययनरत विद्यार्थीका हुन्।
यो घटनाका कारण विद्यार्थीले अनाहकमा दुःख पाएका छन् भने उनीहरूको वर्षभरिको मेहनत खेर गएको छ। नियमित तालिका अनुसार सञ्चालन गर्नुपर्ने तर आन्दोलनका कारण रोकिएका परीक्षा सिटिइभिटीले कात्तिक ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यस्तै उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षार्थीका लागि पनि फेरि मङ्सिर ४ गतेदेखि दोस्रो पटक परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको सदस्यसचिव भट्टराईले बताए।
उनका अनुसार यसअघि स्थगित भएका तथा उत्तरपुस्तिका जलेका विषयका परीक्षा मङ्सिर महिनाभित्रमा सम्पन्न हुने छ तर केही विद्यार्थीले दुई पटक परीक्षा दिनुपर्दा आफूहरूलाई समस्या पर्ने गुनासो गर्दै उत्तरपुस्तिका जलेको दिनको परीक्षालाई आन्तरिक मूल्याङ्कनबाट प्राप्ताङ्क दिनुपर्ने माग गरेका छन्।
आन्तरिक मूल्याङ्कन गर्न समस्या पर्ने भएका कारण परीक्षा नै सञ्चालन गर्न लागिएको सिटिइभिटीले जनाएको छ। सदस्यसचिव भट्टराईले विद्यार्थीको भविष्य र विश्वस्तरको प्रतिस्पर्धाका लागि सही मूल्याङ्कन अनिवार्य रहेको बताउँदै पुनः परीक्षा आवश्यक रहेको बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २६ आश्विन २०८२, आईतवार