Technology Khabar २१ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
अमेरिकी सरकारले चार ठूला प्रविधि कम्पनीहरू—एप्पल, अमेजन, गुगल र मेटा—ले प्रतिस्पर्धा विरोधी कानुन उल्लङ्घन गरेको प्रमाणित गर्न प्रयास गरिरहेको छ। यी कम्पनीहरूलाई आफ्ना मुख्य व्यवसायिक एकाइहरू अलग गर्न वा व्यवसाय सञ्चालन गर्ने तरिकामा परिवर्तन गर्न बाध्य पारिन सक्ने सम्भावना छ।
तर हालको सरकारी शटडाउनले यी चारमध्ये दुई कम्पनी—एप्पल र अमेजन—लाई प्रत्यक्ष असर पारेको छ। यस कारण यी दुवै कम्पनीविरुद्ध चलिरहेका मुद्दा हालका लागि रोकिएका छन्। तर गुगल र मेटाविरुद्धका मुद्दाहरू भने शटडाउनका कारण रोकिँदैनन्।
अमेजनको मुद्दाको सुनुवाइ फेब्रुअरी २०२७ देखि सुरु हुने तय छ, र एप्पलको कानुनी टोली जनवरी २०२७ सम्म प्रमाण र तथ्य खोज्ने प्रक्रियामा रहनेछ। दुवै मुद्दाका न्यायाधीशहरूले संघीय कोष पुनः सञ्चालनमा नआएसम्म मुद्दा स्थगित गर्ने सरकारी अनुरोध स्वीकृत गरेका छन्।
टेलिग्राफका अनुसार गुगल र मेटाका हकमा भने शटडाउनले कुनै असर पार्ने छैन, र दुवै कम्पनीविरुद्धका प्रक्रिया जारी रहनेछन्। गुगलको सर्च इन्जिनसँग सम्बन्धित एक मुद्दामा सरकारले शटडाउनका कारण कार्य स्थगित गर्न अनुरोध गरेको थियो।
तर वाशिङ्टनका जिल्ला न्यायाधीश अमित मेहताले सन् २०१९ को सरकारी शटडाउनको समयमा पनि प्रतिस्पर्धा विरोधी मुद्दाहरू जारी रहेकाले यो अनुरोध अस्वीकार गरेका छन्।
यो मुद्दामा न्यायाधीश मेहताको अघिल्लो आदेश अन्तिम रूप पाउन बाँकी छ, जसअनुसार गुगलले आफ्नो क्रोम ब्राउजर कायम राख्न पाउनेछ।
साथै, उक्त निर्णयले गुगललाई आफ्ना साझेदारहरूलाई केवल गुगल सर्च प्रयोग गर्न बाध्य पार्ने एकाधिकार सम्झौताहरू गर्नबाट पनि रोक्नेछ।
प्रकाशित: २१ आश्विन २०८२, मंगलवार