विमानस्थल नजिकै उडेको ड्रोन नर्वे प्रहरीको नियन्त्रणमा

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

ओस्लोको विमानस्थल नजिकै एक विदेशीले सञ्चालन गरेको ड्रोन नर्वेका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। ड्रोनका कारण यस हप्ता नर्वे र डेनमार्कमा धेरै उडान अवरुद्ध भएका नर्वे प्रहरीका एक अधिकृतले बिहीबार बताए।

नर्वेको पूर्वी प्रहरी जिल्लाका अभियोजन प्रमुख लिसा मारी लोक्केले भनिन्, “बुधबार साँझ ५० वर्ष नाघेका एक व्यक्तिले प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाइरहेका थिए। यसले हवाई यातायातमा कुनै असर भने पारेको थिएन ।”

उनलाई पक्राउ नगरिएको तर प्रहरीले सोधपुछ भने गर्ने उनले बताइन्।

“हिजो राति ९ बजेतिर एउटा ड्रोन ओस्लो विमानस्थलको ‘नो फ्लाई जोन’मा प्रवेश गरेको सूचना प्रहरीलाई दिइएको थियो,” लोक्केले भनिन्। “हामी घटनास्थलमा पुग्दा पचास वर्ष नाघेका एक व्यक्तिले ड्रोन चलाइरहेको भेट्टायौँ”, उनले भनिन्, “प्रहरीले उक्त उपकरण जफत गरेको छ।”

ड्रोन देखेको रिपोर्टपछि कोपनहेगन र ओस्लोसहित स्क्यान्डिनेभियन विमानस्थलहरूमा अस्थायी रूपमा आवागमन अवरुद्ध बनेको थियो। लोक्केले भनिन्, “अहिले हामी यी घटनाबीच कुनै जोखिमयुक्त सम्बन्ध देख्दैनौं।”

सोमबार रातिदेखि मङ्गलबारसम्म ओस्लो विमानस्थलको हवाई यातायात करिब तीन घण्टाका लागि बन्द गरिएको थियो।-रासस/एएफपी 

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया