Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नेपालमा अत्याधिक रुचाइएको ई–स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ। प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो।
कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११ हजारभन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।
प्रतियोगिताको संरचना र अवधारणा
स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एउटा वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ जनाइएको छ।
साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्।
यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ।
प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परीक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको छ:
● ओपन क्वालिफायर: अगष्ट २६–३१
● राउण्ड अफ १२८: सेप्टेम्बर ३–४
● राउण्ड अफ ६४: सेप्टेम्बर ५–६
● प्ले अफ: सेप्टेम्बर १९–२१
● ग्राण्ड फिनाले: सेप्टेम्बर २२–२४
समावेशिताको पहल: गर्ल्स ओन्ली शो–म्याच
समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाइलले यसपटकको फाइनलमा नेपालमै पहिलोपटक गर्ल्स ओन्ली शो–म्याच आयोजना गरेको छ।
यस विशेष प्रदर्शनीमा १६ वटा महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूले रु. २५ हजार नगद पुरस्कार पाउनेछन्। यस कदमले ई–स्पोर्ट्स प्रतिभामा लैंगिक विभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्दो गेमिङ समुदायभित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको आयोजकले जनाएको छ।
ग्राण्ड फिनालेलाई प्रत्यक्ष हेर्नका लागि https://www.youtube.com/@PUBGMOBILEEsportsSouthAsia लिङ्कमा क्लिक गर्न सकिनेछ।
नेपालको ई–स्पोर्ट्स भविष्यका लागि प्लेटफर्म
२०२५ पब्जी मोबाईल नेपाल सिरिज केवल एउटा प्रतियोगिता मात्र नभएर नेपाली गेमरहरूको उत्साह, ऊर्जाशीलता र विश्वस्तरमा खेल्ने सम्भावनाको उत्सव हो। प्रतियोगिता अघि बढ्दै जाँदा दर्शकहरूले उच्चस्तरीय प्रतिस्पर्धा, रोचक प्रतिद्वन्द्विता र नेपाललाई विश्वकै प्रतिष्ठित ई–स्पोर्ट्स प्रतियोगितामा प्रतिनिधित्व गर्न सक्नेछन्।
यस प्रतियोगिताले स्थानीय प्रतिभाको विकास, सामुदायिक संलग्नता र ई–स्पोर्ट्सलाई समावेशी तथा एकताबद्ध गर्ने माध्यमका रूपमा प्रोत्साहन गर्ने पब्जी मोबाईलको प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकको दावी छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार