मलाई सुरक्षा कर्मचारी चाहिँदैन, मन्त्रालयमा काम गर्छु, यहीँ आफै पकाएर खान्छु, यहीँ सुत्छु: मन्त्री पुन

Technology Khabar ६ आश्विन २०८२, सोमबार

मलाई सुरक्षा कर्मचारी चाहिँदैन, मन्त्रालयमा काम गर्छु, यहीँ आफै पकाएर खान्छु, यहीँ सुत्छु: मन्त्री पुन

काठमाडौं ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न भएको सहमति तत्कालीन सरकारले कार्यान्वयन नगरेको बताएका छन्।

केशरमहलस्थित मन्त्रालयमा आज कार्यभार सम्हाल्ने क्रममा उनले विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड पनि दिएका छन्।

केशरमहलस्थित मन्त्रालयमा पदबहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गरे। समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्नेमा उनको जोड थियो।

यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उनले चासो राखेका थिए। मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आगह गरे। उनले आफू एक्लैले गरेर केही नहुने भएकाले शुद्ध मनले नयाँ सोचसहित सुझाव दिन सबैलाई आगह गरे।

“म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ। मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन। दैनिक काममा मेरो खास रुचि हुँदैन”, मन्त्री पुनले भने, “जेनजी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्रष्टाचार र बदमासी हुनु भएन। म जेनजीहरूको दाइ हुँ। शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ। ढिलासुस्ती हुनु भएन।’’

उनले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको स्मरण गरे।

सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गरे।

विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड दिए।

वैज्ञानिक खोज, अनुसन्धान, पुस्तक लेखन र आफ्नो पुस्तक बेच्न आफैँ देशका विभिन्न ठाउँमा घुम्दै आएका मन्त्री पुनले आफू मन्त्री हुनुलाई एक प्रकारले दृष्य परिवर्तनको संज्ञा दिए।

“सिनेमामा झैँ मेरो जीवनमा पनि दृष्य बदलिएको छ। डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु”, उनले भने, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन। म जहाँ काम गर्छु, त्यहीँ बस्ने हो। यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’’

मन्त्री पुनले आफूलाई मन्त्रालय बाहिर जाँदा व्यक्तिगत सुरक्षा कर्मचारी नचाहिने स्पष्ट गर्दै सरकारी बाहेकका काममा जाँदा सरकारी गाडी प्रयोग नगर्ने घोषणा पनि गरे। उनलाई सचिवहरू चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गरेका थिए।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी र तोडफोड भएकाले हाल केशरमहलबाट मन्त्रालयको काम सञ्चालन भएको हो। रामोन म्यागसेसे पुरस्कार विजेता मन्त्री पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोगमा योगदान गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व हुन्।

उनको कामलाई अशोका फाउन्डेसन, रामोन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ। नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर पुनले विदेशमा अध्ययन र अध्यापनपछि आफू जन्मिएको म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेटको सफल सञ्चालन गरेका थिए।

पछिल्लो समय उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका साथै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि अभियान सञ्चालन गर्दै आएका छन्। –रासस

 

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार