जेनजी प्रदर्शनका क्रममा गम्भीर क्षति भोगेको एनसेलले भन्यो- “हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, नेपाल कै लागि”

Technology Khabar २९ भाद्र २०८२, आईतवार

जेनजी प्रदर्शनका क्रममा गम्भीर क्षति भोगेको एनसेलले भन्यो- “हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, नेपाल कै लागि”
प्रदर्शनको क्रममा क्षतिग्रस्त भएको एनसेलको लैनचौरस्थित मुख्यालय।

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले गत हप्ताको तोडफोडका घटनामा काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको जानकारी दिएको छ। यसैगरी, अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

कम्पनीले यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको उल्लेख गरेको छ।

यस्ता घट्नाहरुका बिचमा पनि एनसेल जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राखिरहेको बताएको छ।

“यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो । संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ,” एनसेलले भनेको छ।

निजी क्षेत्रको सेवा प्रदायकले देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै भनेको छ, “यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं।”

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको जानकारी दिएको छ।

“आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं।”

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार