Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
एआई समरी प्रयोग गर्ने प्रवृत्ति बढिरहेको बेला मोजिल्लाले आफ्नो वेब ब्राउजर फायरफक्समा नयाँ सुविधा ल्याएको छ। कम्पनीले घोषणा गरे अनुसार अब मोबाइलमा पनि वेबपेजको सारांश उपलब्ध हुने भएको छ। हाल यो सुविधा अमेरिकी प्रयोगकर्ताका लागि आईओएसमा मात्र उपलब्ध छ र यो अंग्रेजी भाषामा मात्र काम गर्नेछ।
फायरफक्सको समरी सुविधा अरू प्रमुख प्रदायकहरूको भन्दा फरक छ। प्रयोगकर्ताले आफ्नो मोबाइल हल्का हल्लाए मात्र पेज समरी देख्न सकिन्छ। यदि त्यस्तो गर्न असजिलो लागेमा एड्रेस बारको दायाँपट्टि रहेको बिजुली (थन्डरबोल्ट) आइकन थिचेर वा तीन डट मेनुमा गएर ‘समराइज पेज’ विकल्प चयन गरेर पनि प्रयोग गर्न सकिन्छ।
यो सुविधा प्रयोग गरेर ५,००० शब्दभन्दा कमको कुनै पनि वेबपेजको सारांश लिन सकिन्छ। तर शब्द संख्या नजिक हुँदा अनुमान गर्नुपर्ने हुन सक्छ। प्रयोगकर्ताले चाहेमा सेटिङमार्फत यो सुविधा बन्द पनि गर्न सक्नेछन्।
आगामी आईओएस २६ आउँदा, यदि प्रयोगकर्तासँग आईफोन १५ वा नयाँ मोडल छ भने समरी बनाउन एप्पल इन्टेलिजेन्स प्रयोग हुनेछ। अन्य अवस्थामा मोजिल्लाको क्लाउड–आधारित एआईले सुरक्षित रूपमा पेजको पाठ लिएर सारांश तयार गर्नेछ।
यो नयाँ समरी सुविधा फायरफक्सको मे महिनामा ल्याइएको ‘लिंक प्रिभ्यू’ पछि आएको हो। त्यस प्रायोगात्मक सुविधाले एआई प्रयोग गरेर कुनै लिंकमा रहेका मुख्य बुँदाहरू पहिल्यै देखाउने सुविधा दिएको थियो।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार