Technology Khabar २२ भाद्र २०८२, आईतवार
काठमाडौं ।
सरकारले केही दिनअघि सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गराउने निर्णय गरेसँगै शुक्रबार सूचीकरणका लागि औपचारिक र अनौपचारिक रुपमा पत्राचार गरेका भनिएका मेटा र एक्स त्यसपछि सम्पर्कमा आएका छैनन्।
शुक्रबार मेटाले अनौपचारिक रुपमा दर्ता प्रक्रियाबारे सोधपूछ गरेको र एक्सले भने आवश्यक कागजात प्रक्रियाबारे मन्त्रालयलाई औपचारिक ईमेल गरेर विवरण मगाएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए। उनले भने, ‘शुक्रबार जे जति सोधपूछ र पत्राचार भएको थियो त्यो पछि केही भएको छैन। हिजो र आज बिदा भएको कारण उता कुनै काम अगाडि नबढेकाले पनि फेरि सम्पर्कमा नआएका होलान्।’
मेटा सम्पर्कमा आएकोबारे भ्रम भएको जिज्ञासा राख्दा उनले भने, अनौपचारिक रुपमा सोधपूछ गरेको हो। सूचीकरण प्रक्रिया अघि बढ्नका लागि सरकारलाई औपचारिक पत्राचार गरेर आउनुपर्छ।’
एक्स भने औपचारिक रुपमै आएको र आन्तरिक अध्ययन र छलफलमा जुटेको हुन सक्ने इंगित गर्दै उनले केही दिनमा फेरि सम्पर्कमा आउन सक्ने सम्भावना व्यक्त गरे। तर तत्कालका लागि भने शुक्रबारको अवस्थामा कुनै नयाँ कुरा थपिएको छैन।
एक्स र वीच्याटलाई भने औपचारिक रुपमा सम्पर्कमा आएकाले औपचारिक रुपमै सूचीकरणबारे पत्राचार गरिएको मन्त्रालयको भनाई छ।
मन्त्रालयले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय गराइ सकेपछि भदौ २२ गतेसम्ममा हाम्रो पात्रो तथा ग्लोबल डायरी प्रा लि (ग्लोबल डायरी) सूचीकरण भै सक्रिय भइसकेको र सामाजिक सञ्जालहरु ट्विटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराई सकिएको जानकारी गराएको छ।
प्रकाशित: २२ भाद्र २०८२, आईतवार