म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण

  • Technology Khabar | २२ भाद्र २०८२, आईतवार
म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण

काठमाडौं ।

बेनीमा समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले उद्यम गर्न चाहने विद्यार्थीलाई बिनाधितो निर्व्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ ।

क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक रु सात लाख २० हजार ऋण पाएको हो।

बेनीमा आज भएको २४औँ क्याम्पस सभामा श्रेष्ठलाई पहिलो किस्तावापत रु चार लाख ३२ हजार उपलब्ध गराएको बताउँदै क्याम्पसले तोकेको काम गरेपछि बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराइने क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए।

“शिक्षालाई रोजगार र उद्यमसँग जोड्नका लागि विद्यार्थीलाई परियोजनामा आधारित बिनाधितो र बिनाव्याजमा चार वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्नेगरी ऋण उपलब्ध गराएका हौँ”, उनले भने, “विश्व विद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराएका हौँ ।”

श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीको उच्च पहाडी भूगोलमा पाइने मसलेदार फल टिम्मुर खेती, प्रशोधन र बजारीकरणका लागि प्रस्ताव गरेको परियोजना आयोगले छनोट गरेको थियो । योसँगै १८ ओटा क्याम्पसले परियोजना प्रस्ताव गरेका थिए।

म्याग्दी बहुमुखी क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले क्याम्पसका विद्यार्थीहरूले १३ वटा परियोजना पेस गरेकामा बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको टोलीले अन्तर्वार्ता माध्यमबाट छनोट गरेका पाँच ‌ओटा प्रस्तावलाई आयोगमा सिफारिस गरिएको जनाए। उनका अनुसार श्रेया र श्रीकृष्णको परियोजना छनोट भएको हो।

“दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उहाँले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने आन्तरिक सहमति भएको छ”, उनले भने, “अनुदान आयोगले उपलब्ध गराएको अनुदानलाई बिउ पुँजी मानेर अन्य विद्यार्थीको परियोजनामा लगानी गर्ने योजना छ।”

ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवर्द्धन कोषमा राखिने जनाउँदै संयोजक सुवेदीले त्यसलाई विद्यार्थीको उद्यमशीलता विकासमा परिचालन गरिने बताए।

आयोगले गतवर्ष उपलब्ध गराएको रु १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीलाई दुई महिना तालिम दिएको थियो । साथै पर्वत, बागलुङ र म्याग्दीका उद्योगको भ्रमण गराएर सहभागीलाई व्यावसायिक योजना मागेको थियो । तालिममा सहभागी ४२ मध्ये १३ जनाले मात्र परियोजना प्रस्ताव गरेका थिए । रासस

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २२ भाद्र २०८२, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २२ भाद्र २०८२, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २२ भाद्र २०८२, आईतवार